आइतवार, मंसिर १२ २०७८
नेपाल वाइड
खोटाङ, १२ मंसिर । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा एक करोडको लगानीमा ट्रेडिङ सेन्टर तथा अर्गानिक क्याफे भवन निर्माण गरिएको छ ।
कृषिविज्ञ मदन राईको अगुवाईमा व्यवहारिक शिक्षाको अभ्यास गर्दै/गराउँदै आएको शुभद्रा मदन फाउण्डेसनले १ नम्बर प्रदेश सरकारको आर्थिक सहयोगमा तीन तले शुभम् ट्रेडिङ सेन्टर तथा अर्गानिक क्याफे भवन निर्माण गरेको हो । आर्थिक वर्ष २०७७/०७८ मा प्रदेश सरकारले उपलव्ध गराएको २० लाख र फाउण्डेसनको ८० लाखको लगानीमा भवन निर्माण गरिएको हो ।
किसानको प्रोत्साहन र कृषिको व्यवसायीकरणमा टेवा पुर्याउने लक्ष्यका साथ मध्यपहाडी लोकमार्ग छेउमा निर्माण गरिएको भवन १० मंसिरमा प्रदेश नम्बर १ को प्रदेश प्रमुख परशुराम खापुङले उद्घाटन गरेका छन् ।
भवनको भुईँ तलामा गेष्ट रुम, दोश्रो तलामा ट्रेडिङ सेन्टर र कस्टम हायरिङ सेन्टर र तेश्रो तलामा अर्गानिक क्याफे सञ्चालनमा ल्याइएको फाउण्डेसनका कार्यकारी निर्देशक सुर्य राईले बताए । ट्रेडिङ सेन्टरमार्फत किसानलाई आवश्यक पर्ने बिउ, बेर्ना तथा किटनाशक औषधि, कृषि औजार उपलव्ध गराउनेदेखि किसानले उत्पादन गरेका कृषि उपज खरिद गरेर संकलन गर्दै बिक्रीवितरण गर्ने तयारी गरिएको छ ।
यस्तै, कस्टम हायरिङ सेन्टरमार्फत किसानलाई भाडामा कृषि उपकरण र जनशक्ती उपलव्ध गराउने सेवा सञ्चालन सुरु गरिसकिएको कार्यकारी निर्देशक राईले बताए ।

यन्त्रीकरणको माध्यमबाट कृषि पेशाको व्यवसायीकरणका लागि शुभम् सामुदायीक सिकाई केन्द्रमार्फत गत असारदेखि किसानलाई भाडामै प्रविधि र जनशक्ती उपलव्ध गराउनेगरी सेवा सुरु गरेको हो । हातले हुँदैआएको खेती प्रणालीलाई विस्थापित गर्दै किसानलाई जवरजस्त यन्त्रीकरणतर्फ डो¥याउने प्रयासमा पहाडी क्षेत्रमै पहिलोपल्ट भाडामा कृषि उपकरण उपलव्ध गराउन थालिएको दावी गरिएको छ ।
कस्टम हायरिङ सेन्टरमा अनुदानका ६ वटा हाते ट्याक्टर तयारी अवस्थामा राखिएको छ । अन्य हाते ट्याक्टर सिकाइ केन्द्रकातर्फबाट व्यवस्था गरिएको छ । धान, मकै, गहुँ, कोदो प्लान्टर र थ्रेसर मेसिन पनि तयारी अवस्थामा राखिएको कार्यकारी निर्देशक राईले बताए ।
शुभद्रा मदन फाउण्डेसनले पुरानो घरलाई मर्मत गरेर होमस्टे सञ्चालनमा ल्याएको छ । चार कोठे पुर्वेली घरलाई मर्मत गरेर सजावट गरेर होमस्टे सञ्चालनमा ल्याइएको हो । जिल्लामा घुमफिरका लागि आउने आन्तरिक तथा वाह्य पर्यटकलाई आवासको व्यवस्थाका लागि फाउण्डेसनले होमस्टे सञ्चालनमा ल्याएको हो ।
तत्कालका लागि घर र टेण्टमा गरी ५० जना पाहुनालाई खाना खुवाउन र बास राख्न सकिने फाउण्डेसनले जनाएको छ । उद्घाटन लगत्तै होमस्टेमा पाहुना आउन थालेको कार्यकारी निर्देशक राईले बताए ।