Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    जनगणना

    सुरक्षा निकायभित्रको जनगणना सुरक्षाकर्मीबाटै

    सुरक्षा निकायभित्रको जनगणना सुरक्षाकर्मीबाटै


    • बुधवार, मंसिर १ २०७८

    • नेपाल वाइड


    सुरक्षा निकायभित्रको जनगणना सुरक्षाकर्मीबाटै
    जनगणनामा खटिनुअघि जिल्ला जनगणना कार्यालयमा जिज्ञासा राख्दै नेपाल प्रहरीका जवान । तस्बीर : नेपालवाईड डटकम

    खोटाङ । १ मंसिर, खोटाङमा राष्ट्रिय जनगणना अन्तरगत संस्थागत जनगणनाकालागि सुरक्षाकर्मीलाई गणकको रुपमा परिचालन गरिएको छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना लगायतका निकायको संस्थागत जनगणनाका लागि तीन जना सुरक्षाकर्मीलाई गणकका रुपमा परिचालन गरिएको जिल्ला जनगणना कार्यालय खोटाङका जनगणना अधिकारी जीतबहादुर कोईराला (जेबी)ले बताए ।

    जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय र प्रहरीचौकीमा रहेका प्रहरीको जनगणनाका लागि नेपाल प्रहरीकै एक जना जवानलाई खटाइएको छ ।

    यस्तै, शसस्त्र प्रहरीको गुल्म र बेस क्याम्पमा रहेका शसस्त्र प्रहरीको जनगणनाका लागि शसस्त्र प्रहरीकै एक जवानलाई जिम्मेवारी दिइएको छ । नेपाली सेनाको गणभित्रको जनगणना सेनाकै एक जवानमार्फत भइरहेको जनगणना अधिकारी कोईरालाले बताए ।
    जिल्ला कारागार दिक्तेलभित्र रहेका कैदी तथा बन्दीको जनगणनाको जिम्मा पनि नेपाल प्रहरीकै जवानलाई दिइएको छ ।

    यस्तै, कृषिविज्ञ मदन राईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा डाँडागाउँमा स्थापना गरेको शुभद्रा–मदन फाउण्डेसनमा आवासीय अध्ययन गरिरहेका शिक्षक/विद्यार्थीको गणनाका लागि शसस्त्र प्रहरीको जवानलाई खटाइएको छ ।

    संस्थागत जनगणनाका लागि सुरक्षाकर्मीलाई पनि अन्य गणकलाई सरह तालिम लिएर जनगणनाका लागि विवरण संकलनमा खटाइएको कोईरालाले बताए । धेरै ठाउँबाट एकै ठाउँमा भेला भएर एउटै भान्छामा खाना खाने व्यक्तिलाई संस्थागत अन्तरगत गणना गर्ने व्यवस्था छ ।

    २५ कात्तिकदेखि ९ मंसिरसम्म सञ्चालन हुने मुख्य जनगणनाकालागि खोटाङमा २९० गणक खटाइएका छन् । ‘कोही नछुट्ने र कोही नदोहोरिने गरी अक्सर बसोबास गर्ने परिवारका अक्सर बसोबास गर्ने सम्पूर्ण व्यक्तिको’ गणना मूख्य प्रश्नावलीमार्फत सुरु गरिएको जनगणना अधिकारी कोईरालाले बताए ।

    ७० वटा प्रश्न भएका मुख्य प्रश्ननावलीमार्फत पारिवारिक विवरण, जनसांख्यिक विवरण, शैक्षिक विवरण, बसाईसराई सम्वन्धी विवरण, प्रजनन् सम्वन्धी विवरण, वालबालिकाको बसाईको अवस्था, अपांगता सम्वन्धी विवरण, आर्थिक क्रियाकलाप सम्वन्धी विवरण संकलन भइरहेको कार्यालयले जनाएको छ ।

    गत ३० भदौदेखि १८ असोजसम्म सञ्चालन गरिएको घर तथा घरपरिवार सूचीकरणमा खोटाङमा ५८ हजाभन्दा बढि घरहरु रहेको, ३९ हजारभन्दा बढी घरहरुमा ४१ हजारभन्दा बढी परिवारको बसोबास रहेको तथ्यांक आएको थियो । २०६८ सालको जनगणना अनुसार खोटाङको जनसंख्या २ लाख ६ हजार ३१२ थियो भने विदेशमा बस्ने १७ हजार ६६२ जना थियो ।

    सम्बन्धित समाचार