शुक्रवार, कार्तिक २६ २०७८
नेपाल वाइड
खोटाङ । २६ कात्तिक, खोटाङमा प्रसुती व्याथाका कारण स्वास्थ्य अवस्था गम्भीर भएका गर्भवती महिलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हेलीकोप्टर सेवामार्फत उद्धार गरिएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा भर्ना गरिए पनि स्वास्थ्यमा थप जटिलता उत्पन्न भएपछि जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका १९ वर्षीय हिरा राया खड्कालाई बिहिबार राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाई सेवाबाट खर्च व्यहोर्ने गरि उद्धार गरिएको हो ।
स्वास्थ्यमा थप जटिलता उत्पन्न भएपछि तत्काल सुविधा सम्पन्न अस्पतालमा लैजानु पर्ने भन्दै प्राथमिक स्वास्थ्य केन्द्रले पठाएको पत्रको आधारमा जिल्ला प्रशासन कार्यालयको सिफारिसमा गर्भवतीको उद्धार गरिएको हो ।
मंगलबार बिहान भर्ना भएकी गर्भवतीलाई २४ घण्टाभन्दा लामो समय व्याथा लागेको, शल्यक्रीया गर्नुपर्ने लगायतका जटिलता देखिएपछि प्रशुतीगृह थापाथली पठाइएको जन्तेढुंगा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पवन पोखरेलले बताए ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगतको हेलिकोप्टर व्यवस्थाका लागि सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाई, सिंहदरबारलाई पत्र पठाएको थियो ।
प्रशासनले पठाएको पत्रका आधारमा राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईले प्रसव बेदनाले छट्पटिरहेका महिलाको उद्धारका लागि हेलीकोप्टर पठाएको हो । स्वास्थ्य कार्यालयको पत्रको आधारमा प्रशासनको सिफारिसमा प्रसव व्याथाले समस्यामा परेका महिलाको उद्धार गर्ने गरिएको छ ।
प्रसव व्याथाले स्वास्थ्यमा गम्भीर समस्या देखिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी २३ वर्षीय दीपा आचार्य, साकेला गाउँपालिका–५ मात्तिमका २४ वर्षीय सुनिता राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका २४ वर्षीय मेनुका खड्कालाई २२ कात्तिकमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तगतको हेलीकोप्टरबाट उद्धार गरेर प्रसुती गृह थापाथली लगिएको थियो ।