Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    एमाले र नेकपा (एस)बीच कार्यक्रमबाट काउण्टर

    एमाले र नेकपा (एस)बीच कार्यक्रमबाट काउण्टर


    • बिहिवार, कार्तिक १८ २०७८

    • नेपाल वाइड


    एमाले र नेकपा (एस)बीच कार्यक्रमबाट काउण्टर
    नेकपा एमाले र नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङ–काठ्माण्डौं सम्पर्क मञ्चले आयोजना गरेको देउसीभैली ।

    खोटाङ । १८ कात्तिक, खोटाङमा नेकपा (एमाले) र एमालेबाट अलग भएको नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)बिचमा कार्यक्रममार्फत एकले अर्कालाई काउण्टर गर्न थालेका छन् ।

    नेकपा एमालेको खोटाङ–काठ्माण्डौं सम्पर्क मञ्च र नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङ–काठ्माण्डौं सम्पर्क मञ्चले एकैदिन काठ्माण्डौंमा देउसीभैली कार्यक्रम गरेको छ ।

    बुधबार एमालेको खोटाङ–काठ्माण्डौं सम्पर्क मञ्चले अन्नपूर्ण पाटी भेन्यू, पुरानो बानेश्वरमा देउसीभैली गरिरहँदा नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङ–काठ्माण्डौं सम्पर्क मञ्चले शान्तिनगरस्थित बेबिलोन नेशनल सेकेण्डरी स्कुलमा देउसीभैली कार्यक्रमको आयोजना गरेको थियो ।

    १२ कात्तिकमा नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)को जिल्ला कमिटिको बैठक बसेर जिल्ला कमिटिको जिम्मेवारी हेरफेरदेखि, पालिका इन्चार्ज, सह–इन्चार्ज, विभाग लगायतको जिम्मेवारी टुंग्याउने निर्णय गर्‍यो ।

    त्यही दिन नेकपा (एमाले) जिल्ला कमिटिको ७ औं सचिवालय बैठक बस्यो र पार्टी सदस्यताको काम टुंग्याउनका लागि १० वटै पालिकामा उत्प्रेरकको जिम्मेवारी बाँडफाँड गर्नेदेखि बेमौसमी वर्षाका कारण जनधनको क्षती बेहोरेका नागरिकलाई राहत प्रदान गर्न सरकार समक्ष माग गर्ने लगायतका निर्णय गर्‍यो ।

    कतिसम्म भने दुबै पार्टीको बैठकको निर्णय सार्वजनिक गर्ने मिति समेत एकै दिन पारिए । १४ कात्तिक बिहान नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)ले जिल्ला समन्वय समितिको सभाहलमा पत्रकार सम्मेलन गरे भने नेकपा (एमाले)ले दिक्तेलको होटल भिलेजमा पत्रकार भेटघाट कार्यक्रम गरेको थियो ।

    एमाले र नेकपा (एस)को बैठक तथा कार्यक्रमको मिति एकै दिन पर्नुलाई संयोग मात्र मान्न नसकिने स्वयं तिनै पार्टीका नेता तथा कार्यकर्ता बताउँछन् ।

    पार्टीभित्र देखिएको विभाजनका कारण ढुलमुल भएका नेता तथा कार्यकर्तालाई आफ्नै पार्टीमा अलमलाउनका लागि दुई पार्टीले कार्यक्रम जुधाउने गरेको बताईन्छ । फरक विचार राख्ने पार्टी तथा नेताप्रति सहिष्णु बन्नु राजनैतिक ‘कल्चर’ हो, तर दुई पार्टीबिचमा कार्यक्रममार्फत एकले अर्कालाई ‘काउण्टर’ गर्ने गरेका छन् । जिल्लामा शक्ती प्रदर्शनमा समेत दुई पार्टीबिचमा होड चल्न थालेको देखिन्छ ।

    १३ कात्तिकमा नेकपा (एकीकृत समाजवादी) र नेकपा (एमाले)को पत्रकार सम्मेलन हुने जानकारी केही पत्रकारलाई गराइए तर एकको पत्रकार सम्मेलन अर्को दिन सर्ने भएपछि दुबै पार्टीको पत्रकार सम्मेलन १४ कात्तिकमा पारिएको थियो ।

    सम्बन्धित समाचार