मंगलवार, कार्तिक १६ २०७८
नेपाल वाइड
खोटाङ । कात्तिक १५, खोटाङको महुरेगढी प्राविधिक शिक्षालयले डिप्लोमा इन फरेष्ट्री दोश्रो वर्षको वार्षिक परिक्षामा मुलुकभरमै उत्कृष्ट नतिजा ल्याएको छ ।
सिटिइभिटिको आंगीक क्याम्पसकारुपमा २०७५ सालमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको महुरेमा स्थापना गरिएको प्राविधिक शिक्षालय डिप्लोमा इन फरेष्ट्रीको दोश्रो वर्षको वार्षिक परिक्षामा सवै विद्यार्थी उत्तिर्ण गराउँदै देशभरीका प्राविधिक शिक्षालयमध्ये उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो ।
सोमबार सार्वजनिक भएको नतिजा अनुसार महुरेगढी प्राविधिक शिक्षालयका १३ जना विद्यार्थीमध्ये सवै विद्यार्थी उत्तिर्ण भएको शिक्षालयका प्राचार्य ईन्द्रप्रसाद आचार्यले बताए । डिप्लोमा इन फरेष्ट्री दोश्रो वर्षको वार्षिक परिक्षा गत मंसिरमा सञ्चालन गरिएको थियो ।
मुलुकभरका ९ वटा प्राविधिक शिक्षालयमध्ये सार्वजनिक नतिजा अनुसार कालीगण्डकी पोलिटेक्निक इन्स्टीच्यूट, तनहुँको ९१.६७ प्रतिशत, थाहा पोलिटेक्निक इन्स्टीच्यूट, मकवानपुरको ५४.५५ प्रतिशत, पानिनी पोलिटेक्निकल स्कुल, अर्घाखाँचीको ५० प्रतिशत, शहीद कृष्णसेन इच्छुक पोलिटेक्निक इन्स्टीच्यूट, दाङको ५० प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।
यस्तै, कर्णाली टेक्निकल स्कुल, जुम्लाको ३२.५० प्रतिशत, काठ्माण्डु फरेष्ट कलेजको ३१.४३ प्रतिशत, लर्ड वुद्ध कलेज, काठ्माण्डुको १७.९५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको सिटिइभिटीले सार्वजनिक गरेको नतिजामा उल्लेख छ ।
शैक्षिक–सत्र २०७८/०७९ मा महुरेगढी प्राविधिक शिक्षालयमा डिप्लोमा इन फरेष्ट्री प्रथम वर्षमा शत प्रतिशत भर्ना हुने दावी गरिएको छ ।
४० जनाको कोटा रहेको डिप्लोमा इन फरेष्ट्री प्रथम वर्षमा हालसम्म ३५ जना भर्ना भइसकेको प्राविधिक शिक्षालयका प्राचार्य आचार्यले बताए । इच्छुक विद्यार्थीले १७ कात्तिकसम्म भर्ना हुन पाउने शिक्षालयले जनाएको छ ।
मध्यपहाडी लोकमार्गले छोएको र लेकको मनोरमस्थलमा रहेको प्राविधिक शिक्षालय तत्कालिन प्राविधिक शिक्षालय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले २८ जेठ २०७६ मा उद्घाटन गरेका थिए ।
युवालाई जागीर, उच्च शिक्षा वा उद्यमशिलताको अवशर सिर्जना गर्ने लक्ष्यकासाथ सरकारले खोटाङमा प्राविधिक शिक्षालय स्थापना गरेको हो ।
७ वटै प्रदेशमा एक–एक वटा नमूना बहुप्राविधिक शिक्षालय स्थापनाका लागि नेपाल सरकारको आर्थिक वर्ष २०७३/०७४ को स्वीकृत बार्षिक कार्यक्रम अनुशार नुनथलामा प्रदेश नम्बर १ स्तरिय प्राविधिक शिक्षालय स्थापना गरिएको हो । प्राविधिक शिक्षालयमा खोटाङ वाहेक पुर्वपश्चिमका जिल्लाबाट विद्यार्थी अध्ययन गर्न आइरहेका छन् ।