सोमवार, कार्तिक १५ २०७८
नेपाल वाइड
खोटाङ । कात्तिक १५, नाछिरिङ राई भाषाको कक्षा ३ को पाठ्यापुस्तक विमोचन गरिएको छ । नाछिरिङ राईको बाहुल्यता रहेको पुर्वी नेपालका खोटाङ, सोलुखुम्बु, उदयपुर लगायतका विद्यालयमा पठन–पाठनका लागि किरात रदु नाछिरिङ साखाम केन्द्र, केन्द्रिय समिति काठ्माण्डौंको पहलमा तयार पारिएको पाठ्यापुस्तक दिपावली र छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रमका बिच काठ्माण्डौंमा विमोचन गरिएको हो ।
पुस्तक आदिवासी जनजाती उत्थान प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती, जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख बीरकुमार राई र डा. शंकरमान नाछिरिङले १३ कात्तिकमा विमोचन गरेका हुन् ।
नाछिरिङ राईको बाहुल्यता रहेको विद्यालयमा नाछिरिङ भाषामा कक्षा २ पछि कक्षा ३ को पठन–पाठनका लागि पाठ्यापुस्तक तयार पारिएको थियो ।
२०७६ सालदेखि सोलुखुम्बूको सोताङ गाउँपालिकाका पाँच विद्यालय र खोटाङको ऐसेलुखर्क गाउँपालिकाको पाँच विद्यालयमा नाछिरिङ भाषाको पठन–पाठन सुरु गरिएको किरात रदु नाछिरिङ साखाम केन्द्रका अध्यक्ष सकलबहादुर नाछिरिङले बताए ।
स्थानीय तहको कार्यान्वयनपछि विभिन्न भाषाभाषीमा पठन–पाठन गर्ने बाटो खुलेसँगै नाछिरिङ राईको बाहुल्यता रहेको ठाउँका विद्यालयमा नाछिरिङ भाषामै कक्षा १ देखि ३ सम्मको पठन–पाठनका लागि साखामको पहलमा गठित पुस्तक लेखन समितिले यसअघि नै पाठ्याक्रम तयार पारिसकेको थियो ।
१४ मंसिर २०७५ मा ३५ भन्दा बढि नाछिरिङ पुर्खाहरुको उपस्थितिमा धरानमा सम्पन्न पहिलो कार्यशाला गोष्ठीले ‘हामी सबै एउटै नाछिरिङ हौँ, हाम्रो भाषा एउटै नाछिरिङ हो’ भन्ने निष्कर्ष सहित नाछिरिङ भाषाको पाठ्यक्रम निर्माण सुरु गरिएको थियो ।
२०६८ सालको जनगणना अनुसार पुर्वी नेपालमा नाछिरिङ भाषा बोल्न जान्ने जनसंख्या करिब १४ हजार रहेको छ । लोपोन्मुख बनेको नाछिरिङ भाषा, संस्कृति, इतिहास लगायतको संरक्षण एबं संवद्र्धनको लक्ष्यकासाथ आफ्नै भाषामा पाठ्यापुस्तक तयार पारेर पठन–पाठन सुरु गरिएको साखामले जनाएको छ ।
सोलुखुम्बुको सोताङ, महाकुलुङ गाउँपालिका र खोटाङको ऐसेलुखर्क गाउँपालिकामा नाछिरिङ राईको सघन बस्ती रहेको छ । यस बाहेक सँखुवासभा, ताप्लेजुङ, पाँचथर, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, तेहथुम, इलाम, झापा, उदयपुर, काठमाडौँ, ललितपुर, भक्तपुर र प्रवासमा दार्जिलिङ, सिक्किम, भुटान, हङकङ, सिङ्गापुर, युके, अमेरिका, क्यानडा लगायतका देशमा समेत नाछिरिङ राईको बसोवास रहेको छ ।
रामकुमार नाछिरिङ संयोजक, बिजय नाछिरिङ र लाकु संगम नाछिरिङ सदस्य रहेको पुस्तक लेखन समितिले नाछिरिङ भाषाको नाछिरिङ भाषाको कक्षा ३ को पाठ्यापुस्तक तयार पारेको हो ।
गत वर्ष नाछिरिङ भाषाको कक्षा २ को पाठ्यापुस्तक र सोभन्दा अघिल्लो वर्ष कक्षा १ को पाठ्यापुस्तक तयार पारेको पुस्तक लेखन समितिले काठ्माण्डौंमा गत २१ साउनेदेखि ३० साउनसम्म आयोजना गरिएको सम्पादन कार्यशाला गोष्ठीमार्फत कक्षा ३ को पाठ्यापुस्तकको पाण्डुलिपी तयार पारेको थियो ।
भाषाविद डा. तारामणि राईको प्राज्ञिक सहयोग एवं सोलुखुम्बुको सोताङ, खोटाङ र मोरङका नाछिरिङभाषी पुर्खा जलबहादुर नाछिरिङ, हर्कबहादुर नाछिरिङ र शान्ता नाछिरिङको सहभागीतामा पुस्तक लेखन समितिले पुस्तक प्रकाशनका लागि किरात रदु नाछिरिङ साखाम केन्द्रलाई ३१ साउनमा पाण्डुलिपी हस्तान्तरण गरेको थियो ।
नाछिरिङ भाषाको सुनाइ, बोलाइ, पढाइ, लेखाइ जस्ता भाषिक विकासका साथै सामाजिक तथा साँस्कृतिक संरक्षण तथा सम्वद्र्धनमा योगदान पुर्याउने लक्ष्यकासाथ पाठ्यापुस्तक तयार गरिएको पाठ्यापुस्तक लेखन समितिका संयोजक रामकुमार नाछिरिङले बताए ।
‘पाठ्यापुस्तकमा विशेषगरी स्थानीय परिवेस अनुशार भाषाको सुनाई, बोलाई र लेखाई सम्वन्धी सीपलाई केन्द्रित गरिएको छ,’ संयोजक नाछिरिङले भने, ‘व्याकरण र शब्द भण्डार सम्वन्धी विषयवस्तु पनि पुस्तकमा समेटेका छौँ ।’ पुस्तक विमोचन कार्यक्रममा किरात रदु नाछिरिङ साखाम केन्द्रको रिदुखिम भवनको थ्रिडि नक्सा सार्वजनिक गरिएको छ ।