Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    वर्तमान गठबन्धनले संयुक्त मोर्चा बनाएर चुनावको ‘फेस’ गर्छ : राई

    वर्तमान गठबन्धनले संयुक्त मोर्चा बनाएर चुनावको ‘फेस’ गर्छ : राई


    • शनिवार, कार्तिक १३ २०७८

    • नेपाल वाइड


    वर्तमान गठबन्धनले संयुक्त मोर्चा बनाएर चुनावको ‘फेस’ गर्छ : राई
    नेकपा माओवादी केन्द्रका अनुशासन आयोग प्रमुख टंक राई ।

    खोटाङ । कात्तिक १३, नेकपा माओवादी केन्द्रका अनुशासन आयोग प्रमुख टंक राईले आगामी तीन तहको निर्वाचनमा वर्तमान गठबन्धनले संयुक्त मोर्चा बनाएर चुनावको ‘फेस’ गर्ने बताएका छन् ।

    शनिबार प्रेस संगठन खोटाङले दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अनुशासन आयोग प्रमुख राईले गठबन्धनले आगामी स्थानीय तह, प्रदेश र संघीय संसदको चुनाव समयमा सम्पन्न गराउने र सो चुनावमा मोर्चा बनाएर चुनाव लड्ने बताएका हुन् ।

    पुर्वसांसद रहेका राईले गठबन्धनले संयुक्त मोर्चा बनाएर चुनाव नलडे ‘प्रतिगामी शक्तीले फेरी टाउको उठाउन सक्ने’ सम्भावना औंल्याएका छन् । “यो गठबन्धनले आगामी निर्वाचन समयमा गराउँछ । त्यो निर्वाचनमा यो गठबन्धनले मोर्चा बनाएर चुनावको फेस गर्छ” राईले भने, “त्यो नगर्ने हो भने प्रतिगामी शक्तीले फेरी टाउको उठाउन सक्छ ।” राज्यको खर्चको बचत, जनताको समयको बचतका लागि स्थानीय, प्रदेश र संघीय संसदको चुनाव एकै दिन गर्न पार्टीकातर्फबाट सुझाव दिइएको उनले बताए ।

    अनुशासन आयोग प्रमुख राईले वर्तमान सरकार क्षणिक शक्ती र सत्ताको लागि नभै ‘समयको आवश्यकता र परिस्थितिको उपज’ स्वरुप बनेको बताएका छन् । “मुलुकमा रिक्तता उत्पन्न हुने खतरा देखेर जिम्मेवार राजनैतिक दलको हिसावले हामीले वामलोकतान्त्रिक गठबन्धन बनाएर मुलुकलाई पछाडि धकेलिनबाट जोगाएर स्थिरतातिर लग्नुपर्छ भनेर सुरुवात गरेको हो ।

    अहिले जुन सरकार बनेको छ, जुन गठबन्धन निर्माण भएको छ, त्यो समयको आवश्यकता हो । परिस्थितिको उपज हो । यसो नगरिकन मुलुकको संघीयता, गणतन्त्र संस्थागत गर्ने, सुढृड गर्ने काम हुँदैन,” उनले भने, “यो गठबन्धन एउटा प्रयोजनका लागि बनेको छ, यो क्षणिक शक्ती र सत्ताको लागि मात्र बनेको होईन ।

    मुलुकको संविधान लागु गर्नेक्रममा वाधा व्यवधान भयो, मुलुक पश्चगमनतिर जान लाग्यो, त्यसलाई रोकेर संविधानलाई क्रियासिल बनाउने, कार्यान्वयन गर्ने, मुलुकले प्राप्त गरेको पछिल्लो उपलव्धीलाई रक्षा गर्ने उद्धेश्यका साथ गठबन्धन बनेको हो ।”

    राईले खोटाङमा पनि स्थानीय, प्रदेश र संघीय निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, जनता समावजादी र नेकपा (एकीकृत समाजवादी) एउटै मोर्चा बनाएर निर्वाचनमा जाने उल्लेख गरे ।

    “पश्चगामी शक्ती विहिन खोटाङ बनाउने हाम्रो प्रतिवद्धता हो । मोर्चाले एउटै चुनाव चिन्हबाट चुनाव लड्नुपर्छ भन्ने प्रस्ताव छ । होईन एउटै चुनाव चिन्हबाट सम्भव हुँदैन भने पनि गठबन्धन निर्माण गरेर निर्वाचनमा जाने कुरा चैं प्रष्ट छ,” राईले भने, “केही समयपछि गठबन्धनका जिम्मेवार नेताको बैठक बसेर आगामी निर्वाचनमा एक भएर निर्वाचनमा जाने प्रतिवद्धता गर्दै धारणा सार्वजनिक गर्ने छौँ ।

    जिल्लाको विकास निर्माणमा साझा धारणा निर्माणको कोसिस गरिरहेका छौँ । स्थानीय, प्रदेश र संघीय सरकारले के गर्नुपर्छ भन्ने विषयमा साझा धारणा तय गर्नेछौँ । त्यही साझा धारणा आगामी निर्वाचनको स्थानीय घोषणा पत्र हुने छन् ।”

    उनले आगामी सहकार्यको सुरुवात स्वरुप गठबन्धनकातर्फबाट बंशिलाघाटमा बेलिब्रिज राख्नका लागि भौतिक योजना मन्त्रालयमा संयुक्त निवेदन पेश गरिसकेको जानकारी दिए ।

    सम्बन्धित समाचार