बुधवार, कार्तिक १० २०७८
नेपाल वाइड
खोटाङ । कात्तिक १०, खोटाङमा विवादका कारण स्थगित नेकपा एमालेको एक वडा अधिबेसन टुंगिएको छ । विवादका कारण स्थगित हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा एमालेको वडा अधिबेसन बुधबार सर्वसहमतीमा टुंग्याइएको हो ।
वडा अधिबेसनबाट प्रदीप राईलाई वडा कमिटि अध्यक्षमा निरन्तरता दिइएको एमाले खोटाङका सचिवालय सदस्य सुरेन्द्रकुमार राईले बताए ।
वडा कमिटिको उपाध्यक्षमा भक्तबहादुर गिरी र बीरबहादुर बिष्ट, सचिवमा नारायण कार्की, उप–सचिवमा टंक कार्की र गणेश श्रेष्ठ चयन भएका छन् । वडा कमिटि अध्यक्षमा प्रदीप र नारायणको दावी थियो ।
दुवैले वडा कमिटि अध्यक्षमा आ–आफ्नो दावी नछाडेपछि वडा अधिबेसन विवादित बनेको थियो । वडा अधिबेसन रोकिए पनि पालिका अधिबेसनमा सहभागी हुने प्रतिनिधि भने चयन गरिएको थियो ।
वडामा प्रदीप र नारायणको पक्षमा कार्यकर्ता विभाजित भएपछि नेतृत्व चयन पेचिलो बनेको थियो । पालिका अधिबेसन टुंग्याइए लगत्तै नारायणलाई ‘व्याक’ गरेर विवाद हल गरिएको सचिवालय सदस्य राईले बताए ।
खोटाङका ७९ वडामध्ये ७८ वडाको अधिबेसन ६ देखि ८ कात्तिकको बिचमा सम्पन्न भएको थियो । आसन्न १० औं राष्ट्रिय महाधिवेशनअन्तर्गत भएको एमालेको वडा अधिबेसनबाट जिल्लाका २ हजार ४४९ जना वडा स्तरिय नेता तथा कार्यकर्ताले वडा कमिटिमा नयाँ जिम्मेवारी पाएका छन् । वडा अधिबेसनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उप–सचिव सहित प्रतिवडा ३१ सदस्यीय वडा कमिटि गठन गरेको जनाएको छ ।