सोमवार, कार्तिक ८ २०७८
नेपाल वाइड
खोटाङ । कात्तिक ८, विवादका कारण खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा नेकपा एमालेको वडा अधिबेसन स्थगित भएको छ ।
अध्यक्ष पदका आकांक्षी प्रदीप राई र नारायण कार्कीले आ–आफ्नो दावी नछाडेपछि एमाले राजापानीको वडा अधिबेसन हुन नसकेको हो । ९ कात्तिकमा हुने पालिका अधिबेसनपछि वडा कमिटिलाई टुंगो लगाउने तयारी गरिएको एमालेले जनाएको छ ।
वडामा प्रदीप र नारायणको पक्षमा दुई समुह बनेपछि र एकले अर्कालाई स्वीकार गर्ने अवस्था नबनेपछि वडा अधिबेसन विवादित बन्न पुगेको हो । प्रदीप निवर्तमान वडा कमिटि अध्यक्ष हुन् ।
यद्यपी, विवादका विच नगर अधिबेसनमा सहभागी हुने ५ जना प्रतिनिधि भने चुनिएका छन् । जिल्लाका ७९ वडामध्ये ७८ वडाको अधिबेसन सम्पन्न भइसक्दा राजापानीको अधिबेसन बाँकी रहनपुगेको नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद दंगालले बताए ।
विभिन्न कारणले ६ र ७ कात्तिकमा हुन नसकेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडा, दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी, दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा र रावाबेँसी गाउँपालिका–६ हौंचुरको वडा अधिबेसन ८ कात्तिकमा सम्पन्न भएको छ ।
यस्तै, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम र हलेसी तुवाचुङ नगरपालिका–८ धितुङको वडा अधिबेसन ८ कात्तिकमै टुंग्याइएको एमाले खोटाङका सचिवालय सदस्य सुरेन्द्रकुमार राईले बताए ।
आसन्न १० औं राष्ट्रिय महाधिवेशनअन्तर्गत एमालेको वडा अधिबेसनबाट जिल्लाका २ हजार ४४९ जना वडा स्तरिय नेता तथा कार्यकर्ताले वडा कमिटिमा नयाँ जिम्मेवारी पाउँदैछन् । प्रतिवडा ३१ सदस्यीय वडा कमिटिमा वडा स्तरिय नेता तथा कार्यकर्ताले नयाँ जिम्मेवारी पाउन लागेका हुन् ।
वडा अधिबेसनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उप–सचिव सहित सदस्य चयन गरिरहेका छन् ।
आगामी ९ कात्तिकमा पालिका अधिवेशन हुने एमालेले जनाएको छ । एमालेको १० औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुनेछ ।