आइतवार, कार्तिक ७ २०७८
नेपाल वाइड
खोटाङ । कात्तिक ७, नेकपा एमालेले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा महिला मात्रको वडा कमिटि निर्माण गरेको छ । आइतबार सम्पन्न वडा अधिबेसनबाट एमालेले तारमिला राईको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन गरेको हो ।
महिलाको क्षमतामा विश्वास नगर्ने तथा नेतृत्वमा पुरुषलाई मात्र अघि सार्ने परिपार्टीका बिच महिलालाई अघि सारिएको एमालेबाट च्यास्मीटारको वडाध्यक्षमा निर्वाचित भलाराज राईले बताए । वडा कमिटिको उपाध्यक्षमा कमलकुमारी राई, सचिवमा सम्झना राई, उप–सचिवमा अस्मिता राई र प्रेमकुमारी बिकलाई चयन गरिएको एमालेले जनाएको छ ।
‘महिलालाई अवशर दिन हुन्न, महिलाले केही गर्न सक्दैन’ भन्ने पुरुषवादी सोचको अन्त्याका लागि पार्टीको वडा कमिटिको ‘स्टेरिङ’ महिलालाई दिइएको वडाध्यक्ष राईले बताए । “महिलालाई नेतृत्वमा पुर्याउन पर्छ, अवशर दिनु पर्छ भन्ने सोच त छँदैछैन । यो पुरातन सोच त्याग्नु पर्छ,” राईले भने, “हामीले इतिहास रच्ने प्रयास गरेका हौँ ।
महिलाको क्षमतामा बिश्वास गर्नु पर्छ भन्ने उदाहरण देखाउन खोजेका छौँ ।” नगरपालिकाका एमाले नेता एवं युवा संघका जिल्ला अध्यक्ष रसकुमार राईको प्रस्तावमा वडामा महिला मात्रको वडा कमिटि बनाइएको जनाइएको छ ।
११ वडा रहेको हलेसी तुवाचुङ नगरपालिकाको डिकुवा, दुर्छिम र धितुङको वडा अधिबेसन ८ कात्तिकमा हुने छ । विवादका कारण राजापानीको वडा अधिबेसन ९ कात्तिकमा पालिका अधिबेसनकै दिन टुंग्याउने सहमती बनेको युवा संघका अध्यक्ष राईले बताए ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका ७९ वडामध्ये अधिकांश वडाको अधिबेसन सम्पन्न भइसकेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडा, दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी, दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा, रावाबेँसी गाउँपालिका–६ हौंचुरको वडा अधिबेसन ८ कात्तिकमा हुने एमालेका जिल्ला अध्यक्ष रामप्रसाद दंगालले बताए । शिक्षिका मृत फेला परेपछि हौंचुरमा नेकपा एमालेको वडा अधिबेसन स्थगित भएको हो ।
आसन्न १० औं राष्ट्रिय महाधिवेशनअन्तर्गत एमालेको वडा अधिबेसनबाट जिल्लाका २ हजार ४४९ जना वडा स्तरिय नेता तथा कार्यकर्ताले वडा कमिटिमा नयाँ जिम्मेवारी पाउँदैछन् ।
प्रतिवडा ३१ सदस्यीय वडा कमिटिमा वडा स्तरिय नेता तथा कार्यकर्ताले नयाँ जिम्मेवारी पाउन लागेका हुन् । वडा अधिबेसनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उप–सचिव सहित सदस्य चयन गर्ने छन् । आगामी ९ कात्तिकमा पालिका अधिवेशन हुने एमालेले जनाएको छ । एमालेको १० औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुनेछ ।