आइतवार, कार्तिक ७ २०७८
नेपाल वाइड
खोटाङ । कात्तिक ७, शिक्षिका मृत फेला परेपछि खोटाङको रावाबेँसी गाउँपालिका–६ हौंचुरमा नेकपा एमालेको वडा अधिबेसन स्थगित भएको छ । हौंचुरस्थित जनता आधारभुत विद्यालयमा निजी श्रोतमा कार्यरत २७ वर्षीय शिक्षिका कृष्णा श्रेष्ठ ६ कात्तिक बिहान गोठमा झुण्डिएको अवस्थामा मृत फेला परेपछि एमालेको वडा अधिबेसन स्थगित गरिएको हो ।
शिक्षिका मृत फेला परेपछि अधिकांश प्रतिनिधि सोही घट्नाको व्यवस्थापनमा व्यस्त भएपछि ८ कात्तिकमा गर्नेगरी वडा अधिबेसन सारिएको एमालेबाट निर्वाचित वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले बताए । ६ वडा रहेको रावाबेँसी गाउँपालिकाका अन्य वडामा भने ६ कात्तिकमै वडा अधिबेसन सम्पन्न भएको छ ।
दुई नगरपालिका र आठ गाउँपालिकाको ७९ वडामध्ये शनिबार ६८ वडाको अधिबेसन सर्वसम्मत ढंगले टुंगिएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार, हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी अधिबेसनको बन्दसत्र आइतबार हुने एमालेले जनाएको छ ।
शनिबार उद्घाटन गरेर बन्दसत्र एक दिनपछि सारिएको हो । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम र हलेसी तुवाचुङ नगरपालिका–८ धितुङको वडा अधिबेसन भने ८ कात्तिकमा सारिएको नेकपा एमाले खोटाङका सचिवालय सदस्य सुरेन्द्रकुमार राईले बताए । ‘वडा अधिबेसनको तयारी नपुगेको’ भनिए पनि त्यी वडामा सदस्यता विवाद रहेको बताइएको छ ।
यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडा अधिबेसन पनि स्थगित भएको छ । साकेला गाउँपालिका–५ मात्तिम र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माको वडा अधिबेसनको बन्दसत्र आइतबार चल्ने एमालेका जिल्ला अध्यक्ष रामप्रसाद दंगालले बताए ।
आसन्न १० औं राष्ट्रिय महाधिवेशनअन्तर्गत एमालेको वडा अधिबेसनबाट जिल्लाका २ हजार ४४९ जना वडा स्तरिय नेता तथा कार्यकर्ताले वडा कमिटिमा नयाँ जिम्मेवारी पाउँदैछन् । प्रतिवडा ३१ सदस्यीय वडा कमिटिमा वडा स्तरिय नेता तथा कार्यकर्ताले नयाँ जिम्मेवारी पाउन लागेका हुन् ।
वडा अधिबेसनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उप–सचिव सहित सदस्य चयन गर्ने छन् । आगामी ९ कात्तिकमा पालिका अधिवेशन हुने एमालेले जनाएको छ । एमालेको १० औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुनेछ ।