Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    शिक्षा

    रुखमा डेरा बनाएर पढ्ने धनकुमारलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग

    रुखमा डेरा बनाएर पढ्ने धनकुमारलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग


    • शनिवार, आश्विन २३ २०७८

    • नेपाल वाइड


    रुखमा डेरा बनाएर पढ्ने धनकुमारलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
    अनलाईन कक्षाका लागि रुखमा बनाएको डेरामा छात्र धनबहादुर मगरको आमालाई सहयोग रकम हस्तान्तरण गर्दै विव्यास अध्यक्ष किशोरकुमार श्रेष्ठ ।

    खोटाङ । रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सहभागी बनेर चर्चामा आएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगरलाई दक्षिणकोरियामा रहेका शुभेच्छुकबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

    कोभिड–१९ को महामारीकाबेला रुखमा टाँड बनाएर भर्चुअल कक्षामा सामेल भएका सरस्वती माबि अर्खौलेमा कक्षा १० मा अध्ययनरत छात्र मगरलाई खोटाङ सेवा समाज दक्षिण कोरियामार्फत २० हजार आर्थिक सहयोग जुटेको हो ।

    सरस्वती मावि अर्खौलेका पुर्व विद्यार्थी तथा खोटाङ सेवा समाज दक्षिण कोरियाका महासचिव नविन राईको अगुवाईमा छात्र मगरका लागि आर्थिक सहयोग जुटाइएको हो ।

    दक्षिण कोरियाबाट जुटेको रकम बुधबार सरस्वती माबिका व्यवस्थापन समितिका अध्यक्ष किशोरकुमार श्रेष्ठले छात्र मगरका आमा गोमा मगरलाई हस्तान्तरण गरेका छन् ।

    सरस्वती माविका पुर्व विद्यार्थी प्रमोद श्रेष्ठको समन्वयमा खोटाङ सेवा समाज दक्षिण कोरियाबाट १० हजार, समाजका महासचिव राईबाट ५ हजार, चित्र घलेबाट ३ हजार ५ सय र अनुप चाम्लिङबाट १ हजार ५ सय सहयोग जुटाइएको हो । छात्र मगरको शैक्षिक प्रगतीमा सहयोग पु¥याउनका लागि प्रवासबाट सहयोग पठाइएको समाजले जनाएको छ ।

    कोभिड–१९ को महामारीका कारण भौतिक उपस्थितिमा पठन–पाठन गर्ने अवस्था नभएपछि नगरपालिकाको निर्देशन अनुसार विद्यालयले अनलाईन कक्षा सञ्चालन गर्दा छात्र मगर सिम्लेस्थित घर नजिकै रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सामेल भएका थिए । छात्र मगर घर वरपर मोबाईल डाटा कनेक्ट हुने ठाउँ खोजेर रुखमा डेरा बनाएर अनलाईन कक्षामा सहभागी भएको सरस्वती माबिका प्रअ नविन चाम्लिङले बताए ।

    रुखमा डेरा बनाएर अध्ययनमा इच्छाशक्ती देखाएका छात्र मगरलाई हाल विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ । नेपाल टेलीकमले पकेट वाईफाई डिभाईस, हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले मोबाईल चार्ज गर्ने एक थान व्याकअप, एक थान झोला, एक थान ठूलो डिक्सनरी, ५ थान कापी र १ थान डायरी उपलव्ध गराइसकेका छन् ।

    यस्तै, व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले शैक्षिक सामग्री खरिद एवं ट्युसन लगायतका अतिरिक्त अध्ययनका लागि शुल्क तिर्न नगद ४ हजार सहयोग गरेका थिए ।

    विद्यालयले २४ साउनदेखि अनलाईन कक्षाका माध्यमबाट पठन–पाठन सुरु गरेको थियो । तर, अर्खौलेको नवलपुर सिम्लेमा मोबाईलको डाटा बल्लतल्ल कनेक्ट हुन्थ्यो । कनेक्ट भइहाले जुम एप्स चलाउन सम्भव थिएन ।

    कमजोर कनेक्सनकै कारण धनकुमार ८/९ दिनसम्म अनलाईन कक्षमा सहभागी हुन सकेनन् । पढाई छुट्दा अत्तालिएका धनकुमारले डाटा कनेक्ट हुने ठाउँ खोज्दै जाँदा रुखलाई भेट्टाएको बताए । कक्षामा धनकुमार दोश्रो स्थानमा छन् ।

    छात्रले पढ्नका लागि डाटा कनेक्ट हुने ठाउँ खोजेर रुखमै डेरा बनाएर पढाइप्रति देखाएको लगाव र इच्छाशक्तीले गर्व महसुस गराएको प्रअ चाम्लिङले बताए ।

    सरस्वती माबिमा कक्षा ६ देखि कक्षा १० सम्मको पठन–पाठन अनलाईन माध्यमबाट सञ्चालन भइरहेको अवस्थामा भदौ २९ गतेदेखि भौतिक उपस्थितिमै पठन–पाठन सुचारु गराइएको छ ।

    सम्बन्धित समाचार