सोमवार, आश्विन १८ २०७८
नेपाल वाइड
खोटाङ । असोज १८, अखिल नेपाल फुटबल संघ (एन्फा)ले कोभिड–१९ को महामारी सामना गरेका खोटाङका १० खेलाडीलाई राहत प्रदान गरेको छ । जिल्ला फुटबल संघको संयोजनमा एन्फाले जिल्लाका १० वटा फुटबल क्लवका एक/एक जना खेलाडीलाई जनही सात हजार पाँच सयका दरले कोभिड राहत प्रदान गरेको हो ।
जिल्ला फुटबल संघमा आवद्ध फुटबल क्लवको सिफारिस अनुसार अनुशासित, उत्कृष्ट र सम्भावना बोकेका खेलाडीलाई छनौट गरेर एन्फाको राहत प्रदान गरिएको जिल्ला फुटबल संघका अध्यक्ष ध्रुवबिक्रम राईले बताए ।
बुईपा एलाभेन स्पोर्टस् क्लवका तेजकुमार राई, नुनथला फुटबल क्लवका पवन राई, खोटाङ फुटबल एकेडेमीका रोशिस शैंजू, खारम्बु स्पोर्टंस् क्लवका शुभचन्द्र राई, हलेसी तुवाचुङ फुटबल क्लवका प्रवेश राई, सोल्मा स्पोर्टस् क्लवका नविन पोखरेल, नमूना स्पोर्टस् क्लवका सरोज राई, जन्तेढुंगा फुटबल क्लवका निश्चल राई, खोटाङ भगवती स्पोर्टस् क्लवका विपन राई र बाक्सिला फुटबल क्लवका रोशन राईलाई एन्फाको राहत प्रदान गरिएको हो ।
खेलाडीलाई फुटबल संघका अध्यक्ष राई र बरिष्ठ उपाध्यक्ष एवं अखिल नेपाल फुटबल संघ प्रदेश नम्बर १ का सदस्य समिर राईले चेक हस्तान्तरण गरेका थिए । आफ्नो सदस्यस्ता दिएसँगै एन्फाले खोटाङमा खेलकुद सम्वन्धी गतिविधि गर्न थालेको हो ।
२०५९ सालदेखि एन्फाको सदस्यता लिन प्रयास गरेको खोटाङलाई २०७५ सालमा अस्थायी र २०७७ सालमा स्थायी सदस्यता प्राप्त भएको हो । एन्फाको सदस्यता प्राप्तीसँगै जिल्लामा २०७६ सालदेखि जिल्ला लिग फुटबल प्रतियोगीता हुँदैआएको छ ।