सोमवार, आश्विन १८ २०७८
नेपाल वाइड
खोटाङ । असोज १८, खोटाङमा आँखाका बिरामीलाई स्वास्थ्य संस्थासम्म जाने वातावरण निर्माणका लागि धामी झाँक्रीलाई तालिम दिइएको छ ।
झारफुक गर्न धामी झाँक्रीकहाँ पुग्ने आँखाका बिरामीलाई स्वास्थ्य संस्थासम्म पुग्ने/पुर्याउने वातावरण निर्माणका लागि नेपाल नेत्र ज्योति संघ खोटाङको समन्वयमा सगरमाथा चौधरी आँखा अस्पताल लहानले शनिबार दिक्तेल र हलेसीमा बिहिबार एक दिने परम्परागत हिलर्स ट्रेनिङ आयोजना गरेको हो ।
झारफुक गर्न आएका आँखाका समस्या भएका बिरामीलाई स्वास्थ्य संस्था वा विशेषज्ञ डाक्टरकहाँ गएर उपचार गराउनका लागि आग्रह गर्न/गराउनका लागि तालिमको आयोजना गरिएको नेपाल नेत्र ज्योति संघका अध्यक्ष इन्द्र कसजूले बताए ।
आँखा उचार केन्द्र दिक्तेलमा आयोजना गरिएको परम्परागत हिलर्स ट्रेनिङमा २८ जना र हलेसीमा आयोजना गरिएको परम्परागत हिलर्स ट्रेनिङमा ३५ धामी झाँक्रीलाई सहभागी गराइएको आयोजकले जनाएको छ ।
दिक्तेलमा आयोजित तालिममा सहभागी धामी झाँक्रीलाई आँखा उपचार केन्द्र दिक्तेलका प्रमुख हरिहर श्रेष्ठले सहजीकरण गरेका थिए । ‘गाउँघरमा अझै पनि धामी झाँक्रीकै बिश्वास गरिन्छ ।
गाउँघरमा बिरामीको पहिलो सम्पर्क व्यक्ति धामी झाँक्री नै हो,’ अध्यक्ष कसजूले भने, ‘आँखाका समस्या भएका बिरामीलाई झारफुक मात्र नभएर स्वास्थ्य संस्थामा पठाइदिनका लागि धामी झाँक्रीलाई तालिम दिइएको हो ।
सेवाग्राहीलाई जे जति गरेँ, अव बाँकी उपचारका लागि आँखा अस्पतालमा वा आँखा बिशेषज्ञकहाँ जानुस्, हाम्रो मात्र भर नपर्नुस् भनिदियो भने आँखाका बिरामी ज्योती गुमाउनबाट बच्ने छन् ।’
गाउँ–गाउँमा बिरामीले भेट्ने पहिलो व्यक्ती धामी नै हुन् । चिनेजानेका टाढा–टाढाका बिरामी समेत धामी खोज्दै हिँड्ने प्रचलन अझै हटेको छैन । धामीबाट पार नलागेपछि र बिरामीको अवस्था नाजूक भएपछि मात्र डाक्टर भेट्न पुग्छन् उनीहरु ।
त्यही भएर बिरामीलाई सुरुमै अस्पताल आउने वाताबरण बनाउन धामीलाई सहयोगीकारुपमा तालिम दिइएको नेत्र ज्योति संघका अध्यक्ष कसजूले बताए ।
कतिपय आँखाका बिरामी अस्पतालसम्म नआइपुग्ने र आँखाको ज्योती गुमाउने गरेका कारण त्यस्ता बिरामीलाई अस्पतासम्म ल्याउन धामीलाई उपयोग गर्ने उपाय अपनाइएको हो ।