सोमवार, आश्विन ११ २०७८
नेपाल वाइड
खोटाङ । असोज ११, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको नवनिर्वाचित कांग्रेस सभापति अमृत गिरी जिल्लाकै कान्छो सभापति बनेका छन् ।
सोमबार सम्पन्न गाउँपालिका अधिबेसनबाट ३२ वर्षीय गिरी कांग्रेसको गाउँपालिका सभापतिमा चयन भएका हुन् । गाउँपालिका सभापतिका प्रत्यासी डम्बर खड्काले उम्मेद्वारी फिर्ता लिएपछि गिरी पालिका सभापतिमा निर्विरोध चयन भएका हुन् ।
दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीमा २०४६ साल बैसाख २४ गते जन्मिएका गिरीले आफ्नो कार्यकालमा गाउँपालिकामा पार्टीलाई पहिलो बनाउने प्रतिक्रिया दिएका छन् ।
उनी २०७४ सालको स्थानीय तहको निर्वाचनबाट वडा सदस्यमा निर्वाचित भएका थिए । संस्थागत रुपमा संगठन विस्तार, पार्टीभित्र एकता, पार्टी संगठनको नेतृत्व विकासमा जोड लिने गिरीले बताए ।
‘संस्थागत रुपमा संगठन विस्तार गरिन्छ, पार्टीलाई एक ढिक्का बनाएर राखिन्छ,’ गिरीले भने, ‘पार्टी संगठनभित्र नेतृत्व विकास र प्रशिक्षणलाई जोड दिइन्छ । आम निर्वाचनमा पार्टीलाई विजय गराउनेगरी काम गरिन्छ ।’
सरस्वती माबि डाँडाखर्क सछितापोखरीमा कक्षा १० मा अध्ययन गरिरहेकाबेला अनेरास्ववियुको इकाई कमिटि अध्यक्षबाट राजनीतिमा प्रवेश गरेका गिरी २०६४ सालदेखि कांग्रेसको राजनीति सुरु गरेका हुन् ।
उनले २०६५ सालमा नेविसंघकातर्फबाट सिमपानी क्याम्पसको स्ववियु कोषाध्यक्ष, २०६८ सालमा नेविसंघको सिमपानी क्याम्पस इकाई समिति सभापति लगायतका भूमीका निर्वाह गरिसकेका छन् ।
जन्तेढुंगा गाउँपालिकामा ३३ वर्षीय युवा बाजिन्द्र बिष्ट नेपाली कांग्रेसको गाउँपालिका सभापति चुनिएका छन् । शनिबारको गाउँपालिका अधिबेसनमा चुनावी प्रतिष्पर्धाबाट बिष्ट सभापतिको कुर्सी सम्हाल्न पुगेका हुन् ।
जनआन्दोलन २०६२/०६३ का बेला काठ्माण्डौंमा चार तारे झण्डामुनि बसेर गणतन्त्रका पक्षमा नारा चर्काउँदा चर्काउँदै बिष्टले राजीनितीको बाटो समाएका हुन् ।
२०६२ सालमा महेन्द्ररत्न क्याम्पस ताहाचल काठ्माण्डौंको नेविसंघ इकाइ समिति सदस्यबाट औपचारिक राजनीति सुरु गरेका बिष्ट गाउँ फर्किएर पार्टीको पालिका सभापतिको जिम्मेवारीमा पुगेका हुन् । विष्ट हालसम्म पार्टीका गाउँपालिकाका उपसभापति थिए ।
२०४५ साल भदौ १९ गते जन्मिएका विष्टसँग नेविसंघको खोटाङ–काठ्माण्डौं सम्पर्क समितिका सभापति, कांग्रेस खोटाङ–काठ्माण्डौं सम्पर्क समितिका सचिव, सामाजिक संस्था खोटाङ सेवा समाज काठ्माण्डौंको सचिवको भूमीका निर्वाह गरेको अनुभव छ ।