आइतवार, आश्विन १० २०७८
नेपाल वाइड
खोटाङ । असोज १०, खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसको नगर उपसभापतिमा एकाघरका दाजुभाईबिच चुनावी प्रतिष्पर्धा भएको छ ।
शनिबार सम्पन्न नगर अधिबेसनमा नगर उपसभापतिका लागि हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका दाई देबेन्द्र राई र भाई दिनेश राईबिच चुनावी प्रतिष्पर्धा भएको हो । देबेन्द्र घरका साईला र दिनेश कान्छा छोरा हुन् ।
देवेन्द्र चक्रकुमार राईको प्यानलबाट र भाई दिनेश रमेश राउतको प्यानलबाट नगर उपसभापतिमा उम्मेद्वारी दिएका थिए । निर्वाचन प्रकृयाबाट चक्रकुमारको प्यानल विजयी भएको छ । दाजु देबेन्द्रले १२६ मत र भाई दिनेशले ५२ मत पाएको कांग्रेसले जनाएको छ ।
भदौ २४ गते चक्रकुमारले प्यानल सहितको उम्मेद्वारी घोषणा गर्दा उपसभापतिमा देबेन्द्रको र भदौ २६ गते रमेशले प्यानल सहितको उम्मेद्वारी घोषणा गर्दा भाई दिनेशको नाम सार्वजनिक भएको थियो ।
देबेन्द्रलाई नगरपालिकाका मेयर इवन राई र दिनेशलाई उपमेयर बिमला राईको समर्थन थियो । मत काटाकाट गर्नका लागि दाजुभाईलाई दुई समुहले उम्मेद्वार बनाएको हो ।
‘हारे पनि जिते पनि’ एकैघरकाले जित्ने भन्दै दाजुभाईले सल्लाहमै एकै पदमा उम्मेद्वारी दिएको कतिपयको अनुमान छ । कांग्रेसको नगर उपसभापतिमा निर्वाचित देबेन्द्रले भने आफ्नो उम्मेद्वारीपछि भाईको उम्मेद्वारी आएको बताए ।
‘पहिला सल्लाह भएको थिएन । मेरो उम्मेद्वारी आएपछि भाईको उम्मेद्वारी आयो,’ देबेन्द्रले भने, ‘टिमले अघि सारेका कारण दुबैको व्याक हुने अवस्था रहेन । त्यसपछि सौहाद्रपुर्ण रुपमै चुनावी मैदानमा उत्रिएका हौँ ।’