शनिवार, आश्विन ९ २०७८
नेपाल वाइड
खोटाङ । असोज ९, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा कांग्रेसको पालिका अधिबेसन एक दिनपछि सरेको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाको वडा अधिबेसनको विषयलाई लिएर गाउँपालिका अधिबेसन आइतबार बिहान १० बजेदेखि सुरु गर्ने सहमती भएको कांग्रेसले जनाएको छ ।
गत भदौ १८ गते मत गणनाका क्रममा १०८ औं मतपत्र समावेसी र खुलातर्फको स्टीच गरिएको हुनुपर्नेमा दुबै खुलातर्फको मतपत्र स्टीच गरेको भेटिएको निहुमा याम्खा कांग्रेसको वडा अधिबेसन विवादकाबिच टुंगिएको थियो ।
वडा अधिबेसन षडयन्त्र र धाँधलीपूर्ण ढंगबाट गराइएको भन्दै नेपाल विद्यार्थी संघ खोटाङका उपाध्यक्ष नइन्द्र राईले भदौ २२ गते दिक्तेलमा पत्रकार सम्मेलन गर्दै पुःन वडा अधिबेसनको माग गरेको केही समयपछि कांग्रेस जिल्ला समितिले असोज २ गते सचिव ज्ञानेन्द्र जोशीको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गठन गरेको थियो ।
याम्खाको वडा अधिबेसनको विवाद छानविनका क्रममा रहेकाले गाउँपालिका अधिबेसन सुरु गर्ने/नगर्ने भन्नेमा मतभेद सुरु भएपछि छानविन समितिले शनिबार ‘वडा अधिबेसन प्रकृयागतरुपमा सही भएको’ प्रतिबेदन उपलव्ध गराएको कांग्रेसले जनाएको छ ।
सो प्रतिबेदन प्राप्त भएपछि दुबैपक्षको सहमतीमा गाउँपालिका अधिबेसन आइतबारका लागि सारिएको हो । दिप्रुङ गाउँपालिकामा अमृत गिरी कांग्रेसको गाउँपालिका सभापति चयन हुने बलियो सम्भावना छ ।
गाउँपालिका अध्यक्ष एवं कांग्रेस महाधिबेसन प्रतिनिधि भूपेन्द्र राईको टिमबाट रामचन्द्र राई र नेविसंघका उपाध्यक्ष राईको टिमबाट नेत्रकुमार राई वडा सभापतिमा लडेका थिए । १९२ मत खसेको वडा अधिबेसनमा रामचन्द्रले १०४ मत र नेत्रकुमारले ८६ मत पाएको कांग्रेसले जनाएको छ ।