शनिवार, आश्विन ९ २०७८
नेपाल वाइड
खोटाङ । असोज ९, खोटाङका १० वटै स्थानीय तहमा कांग्रेसको नगर/गाउँपालिका अधिबेसन सुरु भएको छ । कतिपय पालिकामा सहमतीय तथा कतिपय स्थानीय तहमा चुनावी प्रकृयाका माध्यमबाट नगर/गाउँपालिकाको नेतृत्व चयनको प्रकृया अघि बढेको छ ।
ऐसेलुखर्क गाउँपालिका, बराहपोखरी गाउँपालिका र रावाबेँसी गाउँपालिकामा सहमतीय ढंगले नेतृत्व चयनको प्रयास भइरहेको छ । अन्य आकांक्षी देखिए पनि ऐसेलुखर्क गाउँपालिकामा सन्तबीर तामाङ, बराहपोखरी गाउँपालिकामा खिलाराज राई र रावाबेँसी गाउँपालिकामा फटिक श्रेष्ठ सहमतीमै पालिका सभापतिमा चयन हुने निश्चितजस्तै भएको श्रोतले जनाएको छ ।
यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा अमृत गिरी कांग्रेसको पालिका सभापतिका बन्ने बलियो सम्भावना रहेको जनाइएको छ । दिप्रुङमा याम्खा वडाअधिबेसनको विवादका कारण गाउँपालिका अधिबेसन छलफलकैक्रममा रहेको छ ।
अन्य स्थानीय तहमा भने चुनावी प्रकृयाका लागि मतदानको प्रकृया सुरु भएको कांग्रेसले जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नगर सभापतिका लागि प्रकाश श्रेष्ठ र रामचन्द्र राई चुनावी मैदानमा उत्रिएका छन् ।
हलेसी तुवाचुङ नगरपालिकाको सभापतिमा चक्रकुमार राई र रमेश राउतबिच प्रतिष्पर्धा हुँदैछ । केपिलासगढी गाउँपालिकामा हेमन्त राई र गोपाल राई, साकेला गाउँपालिकामा राम साम्पाङ, बिजय गुरुङ र सिजन राई, खोटेहाङ गाउँपालिकामा राजु ढकाल र प्रेम थापा, जन्तेढुंगा गाउँपालिकामा बाजिन्द्र बिष्ट र अमित राईबिच प्रतिष्पर्धा हुने कांग्रेसले जनाएको छ ।