Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ऐतिहासिक गढीमा भौतिक संरचना निर्माण नगर्न यायोक्खाको माग

    ऐतिहासिक गढीमा भौतिक संरचना निर्माण नगर्न यायोक्खाको माग


    • बिहिवार, आश्विन ७ २०७८

    • नेपाल वाइड


    ऐतिहासिक गढीमा भौतिक संरचना निर्माण नगर्न यायोक्खाको माग
    कोटगढी संरक्षणका लागि गाउँपालिका अध्यक्ष लिलानाथ निरौलालाई ज्ञापन–पत्र बुझाउँदै यायोक्खाको टोली ।

    खोटाङ । असोज ७, खोटाङको रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीस्थित कोटगढीमा भ्यू टावर निर्माण गर्न लागिएको भन्दै किरात राई यायोक्खाले ध्यानाकर्षण भएको जनाएको छ ।

    प्राचिन किरात राज्य व्यवस्थाको प्रामाणिक अवशेषका रुपमा रहेको ऐतिहासिक कोट गढीलाई क्षती पुग्नेगरी कंक्रिट संरचना निर्माण गर्न लागिएको भन्दै किरात राई यायोक्खा खोटाङले बिरोध जनाएको हो ।

    बिहिबार यायोक्खाकातर्फबाट गाउँपालिका अध्यक्ष लिलानाथ निरौलालाई बुझाइएको ज्ञापन–पत्रमा ऐतिहासिक एवं पुरातात्विक सम्पदाको रुपमा संरक्षण र विकास गर्नुपर्नेमा संरक्षणको नाममा नयाँ संरचना निर्माण गर्दा कोटगढीको ऐतिहासिक, पुरातात्विक र साँस्कृतिक महत्व नामेट भएर जानेतर्फ ध्यानाकर्षण भएको जनाइएको छ ।

    कोटगढीमा भ्यू टावर निर्माण गर्नका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को निति तथा कार्यक्रममा बजेट विनियोजन गरेको यायोक्खाको ज्ञापन–पत्रमा उल्लेख छ । गढीमा भ्यू टावर निर्माणका लागि विनियोजित बजेट तत्काल कार्यान्वयनमा नल्याउन र कोटगढीलाई प्राकृतिक रुपमै संरक्षण गर्न अपिल गरिएको छ ।

    यायोक्खाले गढी ऐतिहासिक र साँस्कृतिक हिसावले अत्यन्त संवेदनशील विषय भएकाले त्यसको ऐतिहासिक, पुरातात्विक र साँस्कृतिक पक्षको इतिहासकार तथा विज्ञहरुद्धारा खोज अनुसन्धान गरी सबैको समन्वय र सहभागीतामा बृहत गुरुयोजना तयार गरि कोटगढी क्षेत्रमा भौतिक पुर्वाधार निर्माण गर्न गाउँपालिकालाई सुभाव दिएको छ ।

    गाउँपालिकालाई यायोक्खाकातर्फबाट उदिम चाम्लिङले ज्ञापन–पत्र बुझाएका थिए । कोटगढीमा रहेको ऐतिहासिक इनारमा कंक्रिट हालेर नयाँ संरचना बनाइएको यायोक्खाका जिल्ला सचिव युगसन किरातले बताए ।

    गाउँपालिका अध्यक्ष निरौलाले भने कोटगढीमा भ्यू टावर बनाउने योजना नभएको बताए । अध्यक्ष निरौलाले कोटगढी संरक्षण योजना अन्तरगत विगत तीन वर्षदेखि गेट बनाउने, सिँढी निर्माण गर्ने र सडक विस्तार गर्ने काम काम भइरहेको बताए ।

    ‘हाम्रो योजना भनेको कोटगढी संरक्षण गर्ने हो । यहाँ भ्यू टावर बनाउने हाम्रो योजना छैन,’ अध्यक्ष निरौलाले भने, ‘चालु आर्थिक वर्ष गढीको डिपिआर बनाउनका लागि पुरातत्व विभागबाट १० लाख बजेट आएको छ । तर कोटगढी भ्यू टावर उल्लेख भएर बजेट आएकाले भ्यू टावर बनाउन लागियो भनेर हल्ला गरिएको हो ।’

    सम्बन्धित समाचार