Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    पैत्रीक सम्पत्तीमा छोरा र छोरीलाई समान अधिकारको व्यवस्थाको माग

    पैत्रीक सम्पत्तीमा छोरा र छोरीलाई समान अधिकारको व्यवस्थाको माग


    • सोमवार, आश्विन ४ २०७८

    • नेपाल वाइड


    पैत्रीक सम्पत्तीमा छोरा र छोरीलाई समान अधिकारको व्यवस्थाको माग
    मेयर दिपनारायण रिजाल र प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मालाई ज्ञापन–पत्र बुझाउदै अखिल नेपाल महिला संघ (क्रान्तीकारी)का जिल्ला अध्यक्ष ध्रुवा राईलगायत ।

    खोटाङ । असोज ४, अखिल नेपाल महिला संघ (क्रान्तीकारी) खोटाङले पैत्रीक सम्पत्तीमा छोरा र छोरीलाई समान अधिकारको व्यवस्थाको माग गरेको छ ।

    ‘महिला र पुरुष एक रथका दुई पांग्रो’ भएको उल्लेख गर्दै अखिल नेपाल महिला संघ (क्रान्तीकारी)ले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जिल्ला प्रशासन कार्यालय समक्ष छोरीलाई पनि छोरा सरह पैत्रीक सम्पत्तीमा समान अधिकारको व्यवस्था गर्नका लागि पहल गर्न माग गरेको हो ।

    सोमबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल र प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मालाई ज्ञापन–पत्र बुझाउँदै अखिल नेपाल महिला संघ (क्रान्तीकारी)ले हरेक सामाजिक रुपान्तरणका आन्दोलन महिलाको सहभागीताविना सफल हुन नसक्ने स्मरण गराएको छ ।

    अखिल नेपाल महिला संघ (क्रान्तीकारी)का जिल्ला अध्यक्ष ध्रुवा राईले बुझाएको ज्ञापन–पत्रमा अखिल नेपाल महिला संघ (क्रान्तीकारी)ले लैंगीक उत्तरदायी बजेट १० प्रतिशत व्यवस्था गरी जनचेतना, तालिम तथा सीप सिकाइ आदिमा प्रयोग गर्न, आमाको नामबाट नागरिकता प्राप्त गर्ने सहज वातावरण बनाउन, प्रत्येक स्थानीय तहमा अल्पकालिन सुरक्षित गृह (सेफ हाउस)को व्यवस्था गर्न ध्यानाकर्षण गराइएको छ ।

    यस्तै, स्वास्थ्य संस्था र शिक्षण संस्थाको हाताको वरपर निश्चित दुरीसम्म धुम्रपान, मद्यपान, जुवातास निशेधित क्षेत्र घोषणा गर्न, माबि तहसम्म किशोरीमैत्री वातावरण बनाउन किशोरीलाई आरम कक्ष शौचालयको व्यवस्था, सेनीटरी प्याडको सहज व्यवस्था गर्न, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई महिला हिंसामुक्त पालिका घोषणा गर्न, नगरपालिकाभित्रका माबिमा एक जना स्टाफ नर्सको व्यवस्था गर्न, नगरपालिकाबाट महिलाको क्षमता विकास सम्वन्धी कार्यक्रम आयोजना गर्दा सर्वपक्षीय सहभागीताको व्यवस्था गर्न भनिएको छ ।

    ज्ञापन–पत्रमा सबै गर्भवती महिलालाई अस्पतालमै सुत्केरी हुने व्यवस्था गर्न, हिंसा पिडित महिलाको लागि न्यायीक समितिमार्फत तत्काल न्याय दिने व्यवस्था मिलाउन, छोरी जन्मेपछि खाताको व्यवस्था र माबि शिक्षासम्म निःशुल्क शिक्षाको व्यवस्था गर्न माग गरिएको अखिल नेपाल महिला संघ (क्रान्तीकारी)ले जनाएको छ ।

    संविधानको प्रस्तावनादेखि नै सामन्ती राज्य व्यवस्थाको अन्त्य गर्ने संकल्प गर्दै मौलिक हक अन्तरगत महिला हक, समानताको हक र सामाजिक न्यायको हक, पैत्रिक सम्पत्तीमा महिलाको समानताको हक तथा आमाको नामबाट नागरिकता प्राप्त गर्ने लगायतका हकलाई व्यवहारमा लागू गर्नु सबैको कर्तव्य र दायीत्व भएको अखिल नेपाल महिला संघ (क्रान्तीकारी)का जिल्ला अध्यक्ष राईले बताएकी छन् ।

    सम्बन्धित समाचार