शुक्रवार, आश्विन १ २०७८
नेपाल वाइड
खोटाङ । असोज १, सर्वसाधारणलाई गाउँमै स्वास्थ्य सेवा उपलव्ध गराउने लक्ष्यका साथ खोटाङको साकेला गाउँपालिकाले सामुदायीक स्वास्थ्य सेवा इकाई केन्द्र विस्तार गरेको छ ।
दुरदराजमा रहेका सर्वसाधारणलाई लक्ष्यीत गर्दै साकेला गाउँपालिका–३ खिदिमाको किवामा सामुदायीक स्वास्थ्य सेवा इकाई केन्द्र स्थापना गरिएको हो ।
स्वास्थ्य सेवाका लागि स्वास्थ्यचौकीसम्म पुग्न टाढा पर्ने खण्डित भुगोलका नागरिकको सहजताका लागि स्थापना गरिएको सामुदायीक स्वास्थ्य सेवा इकाई केन्द्र शुक्रबार साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्का झंकारले उद्घाटन गरेका छन् ।
बाह्य खोप केन्द्रको भवनलाई स्तरोन्नती गर्दै स्वास्थ्यचौकीकै मातहतमा रहनेगरी सामुदायीक स्वास्थ्य सेवा इकाई केन्द्र विस्तार गरिएको गाउँपालिका अध्यक्ष खड्काले बताए ।
सामान्य स्वास्थ्य सेवाका लागि घण्टौं हिँडेर स्वास्थ्य संस्था पुग्न बाध्य सर्वसाधारणलाई आफ्नै गाउँमा स्वास्थ्य सेवा उपलव्ध गराउनेगरी एक जना अहेव, एक जना अनमी र कार्यालय सहयोगी तथा आवश्यक औषधिको व्यवस्था गरेर स्वास्थ्यचौकी सरहको स्वास्थ्य सेवा प्रवाह सुरु गरिएको छ ।
स्वास्थ्यमा सबैको पहुँच विस्तारका लागि गाउँपालिकाका अन्य खण्डित भूगोल तथा आवश्यक ठाउँमा क्रमशः सामुदायीक स्वास्थ्य सेवा इकाई केन्द्र स्थापना गर्दै जाने योजना रहेको गाउँपालिका अध्यक्ष खड्काले बताए ।
‘हामी निर्वाचित भएकै वर्ष खण्डित भूगोलमा बसोबास गर्ने जनतालाई स्वास्थ्य सेवा उपलव्ध गराउन सामुदायीक स्वास्थ्य इकाई केन्द्र स्थापना गर्ने नीति तथा कार्यक्रम तय गरेका थियौँ,’ गाउँपालिका अध्यक्ष खड्काले भने, ‘पाँच वडा रहेको पालिकाका अन्य खण्डित भूगोलमा क्रमशः स्वास्थ्य इकाई केन्द्र स्थापना गर्दै जाने छौँ ।’
सामुदायीक स्वास्थ्य सेवा इकाई केन्द्र किवा गाउँपालिकाकै दोश्रो सामुदायीक स्वास्थ्य सेवा इकाई केन्द्र हो । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको डाँडागाउँमा २०७७ साल कात्तिक २७ गते पहिलो सामुदायीक स्वास्थ्य सेवा इकाई केन्द्र स्थापना गरिएको थियो ।
सामुदायीक स्वास्थ्य इकाई केन्द्र उद्घाटनकाक्रममा गाउँपालिकाकी उपाध्यक्ष सरिता खड्का, खिदिमाकी वडाध्यक्ष शिवकला राई लगायतको उपस्थिति रहेको थियो ।