Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कविता

    सम्झना : ति सबै प्रति

    सम्झना : ति सबै प्रति


    • शुक्रवार, आश्विन १ २०७८

    • भिमसेन थापा मगर


    सम्झना : ति सबै प्रति
    भिमसेन थापा मगर

    सम्झना : ति सबै प्रति

    सम्झना १ : गोलीखान नपाएकाहरु प्रति
    कम्रेड
    बन्दुकको नालबाट मात्र संम्भव छ
    परिवर्तन
    न्याय
    विकास र समृद्धि भन्दै युद्धमा होमिएका,
    गोलीको सहज मृत्यु नमरेर
    सङ्गिनले रेटिएर
    नुन चुक मोलिएका छियाँछियाँ शरीर बोकेर
    अझै केहि दिन
    आफ्नै खुन पिएर
    नयाँ नेपालको सपनामा बाँचेका र
    अन्त्यमा
    आफ्नै मुतको गंगाजल पिएर मरेका
    जस्लाई म सहिद भन्छु
    तिमि महान सहिद भन्छौ,
    कम्रेड
    तिनै सहिदले
    नयाँ नेपाल कस्तो छ ? भनेर सोध्यो भने
    म के जवाफ दिउ ?
    यहि भनिदिउ की !
    “गोली खाएर सहिद हुन्छु भन्नेले
    सङ्गिनले रेटिएर,
    आफ्नै मुतको चिसो आहालमा
    मुत पिएर मरेकाले हेर्न मिल्दैन
    नयाँ नेपाल ”
    सम्झना २ : गोली देख्न नपाएकाहरु प्रति
    विफर पचाँउन नसकेकाहरु
    भुकम्पमा परेकाहरु
    भुकम्पमा झरेकाहरु
    भुकम्पमा मरेकाहरु
    कोरोनाले मरेकाहरु
    कोशी, गण्डकी र कर्णालिमा बगेकाहरु
    बगाईएकाहरु र
    बग्न बाध्य बनाईएकाहरुले सोधे भने
    सबै जिम्मा भगवानलाई दिउला
    तर
    झाँडापखाला पचाँउन नसकेका
    जिवनजल नपाँएर
    जिवन जलमा बगाएकाहरु
    सन्तान प्राप्तीको खुसी साट्न नपाउदै
    प्रस्रव पीडामा
    एक मुट्ठी सास बिसाएका आमाहरु र
    धर्ती नटेकदै धर्ती छाडेका
    ति शिशुहरु
    अनि
    सिटामोलको गोलीको अभावमा
    धर्तिको छातिमा न्यानो सिट रोजेकाहरु,
    जस्लाई म मारिएका लाश भन्छु
    तिमि मरेका लाश भन्छौ
    कम्रेड
    तिनै लाशहरुले
    नयाँ नेपाल ! परिवर्तनको प्रतिफल कस्तो हुन्छ ? भनेर सोध्यो भने
    म के जवाफ दिउ ?
    यहि भनिदिउ की !
    “सिटामोलको गोलिको स्वाद नपाएकाले परिवर्तनको प्रतिफल चाख्न मिल्दैन”
    सम्झना ३ः दुवै गोली खान नपाएकाहरु प्रति
    अन्याय
    विभेद र सामाजिक कुसंस्कार विरुद्ध
    लड्दा लड्दै आत्मदाह गर्न बाध्य योगमायाहरु
    स्वतन्त्रताका निम्ति लड्दा लड्दै
    युद्ध मैदानमा
    बेपत्ता पारिएका रामप्रसाद राईहरु
    राष्ट्रियता र एकताका निम्ति
    राजद्रोह गरेका
    भिमदत्त, भिम मल्ल र भिमसेन थापाले सोधे भने
    सजिलै भनिदिउला
    “एक थान संविधान छ ”
    तर
    जनताद्धारा
    जनताकै लागि
    जनताले गर्ने शासन व्यवस्थामा मात्रै
    नागरिकको न्याय
    स्वतन्त्रता
    मानव अधिकार
    संमृद्धि र खुसी देखेका
    जनताको मनमा बाँचिरहेका
    वि.पि, गणेशमान र मदन आश्रीतहरु
    जस्लाई म क्रान्ती भन्छु
    तिमि विचार भन्छौ
    कम्रेड
    तिनै विचारहरुले
    संघीय लोकतान्त्रिक गणतन्त्रको विचार र सिद्धान्त के हो ? भनेर सोध्यो भने
    म के जवाफ दिउ ?
    यहि भनिदिउ की !
    “संविधान दिवस हेर्न टुँडिखेल आउ ”

    (कवि : भिमसेन थापा मगर)

    सम्बन्धित समाचार