शुक्रवार, आश्विन १ २०७८
नेपाल वाइड
खोटाङ । असोज १, रुखमा (टाँड) डेरा बनाएर अनलाईन कक्षामा सहभागी बनेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगरलाई आर्थिक सहयोग जुटेको छ ।
मोबाईल डाटा कनेक्ट गर्नका लागि अग्लो रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सामेल बनेका छात्र मगरलाई सोही माविका व्यवस्थापन समितिका अध्यक्ष किशोरकुमार श्रेष्ठले नगद ४ हजार सहयोग गर्नुभएको हो ।
पुर्वप्रअ डिकबीर राईको राजीनामा स्वीकृत एवं निमित्त प्रअ नविन चाम्लिङलाई प्रअमा नियुक्त गर्न आयोजना गरिएको कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले छात्र मगरलाई आर्थिक सहयोग गर्नुभएको हो ।
छात्र मगरलाई आवश्यक शैक्षिक सामग्री खरिद एवं ट्युसन लगायतका अतिरिक्त अध्ययनका लागि शुल्क तिर्न नगद सहयोग गरेको विव्यास अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
यसअघि भदौ २९ गते हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले छात्र मगरलाई मोबाईल चार्ज गर्न एक थान व्याकअप, एक थान झोला, एक थान ठूलो डिक्सनरी, ५ थान कापी र १ थान डायरी प्रदान गर्नुभएको थियो ।
कोभिड–१९ को महामारीका कारण भौतिक उपस्थितिमा पठन–पाठन गर्ने अवस्था नभएपछि नगरपालिकाको निर्देशन अनुसार विद्यालयले अनलाईन कक्षा सञ्चालन गर्दा छात्र मगर सिम्लेस्थित घर नजिकै रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सामेल हुनुभएको थियो । हाल धनकुमार सामाजिक सञ्जालमा भाइरल बन्नुभएको छ ।
मोवाइल डाटा कनेक्ट नहुने समस्याको कारण धनकुमार ८/९ दिनसम्म अनलाईन कक्षमा सहभागी हुनबाट बञ्चित हुनुभएको थियो । पढाई छुट्दा अत्तालिएका धनकुमारले डाटा कनेक्ट हुने ठाउँ खोज्दै जाँदा रुखलाई भेट्टाएको बताउनुभयो ।
कक्षामा धनकुमार दोश्रो स्थानमा छन् । छात्रले पढ्नका लागि डाटा कनेक्ट हुने ठाउँ खोजेर रुखमै डेरा बनाएर पढाइप्रति देखाएको लगाव र इच्छाशक्तीले गर्व महसुस गराएको सरस्वती माबि अर्खौलेका प्रअ चाम्लिङले बताउनुभयो ।
सरस्वती माबिमा कक्षा ६ देखि कक्षा १० सम्मको पठन–पाठन अनलाईन माध्यमबाट सञ्चालन भइरहेको अवस्थामा भदौ २९ गतेदेखि भौतिक उपस्थितिमै पठन–पाठन सुचारु गराइएको छ ।