सोमवार, भाद्र २८ २०७८
नेपाल वाइड
खोटाङ । भदौ २७, प्रदेश नम्बर १ का सांसद रामकुमार राई पासाङले पार्टीको लोगो र व्यक्ती पछ्याउने प्रवृत्ति त्याग्न पत्रकारलाई आग्रह गरेका छन् ।
दिक्तेलमा सोमबार प्रेस संगठन नेपालको कार्यालय उद्घाटन गर्दै प्रदेशसभा सांसद राईले कुनै पार्टीमा आस्था मात्र नराखेर त्यसकै लोगो बोक्ने र व्यक्ति पछ्याउने प्रवृत्ति मौलाएको भन्दै त्यस्ता प्रवृत्ति त्याग्न पत्रकारलाई आग्रह गरेका हुन् । प्रदेशसभा सांसद राईले पार्टी र व्यक्तिभन्दा मथि उठेर पत्रकारिता गर्नुपर्नेमा जोड दिएका छन् ।
‘जताततै भ्रष्टाचार मौलाएको छ, मानव अधिकार हनन्का घट्ना बढिरहेका छन्,’ सांसद राईले भने, ‘यो अवस्थामा पत्रकारहरुले वस्तुगत र तथ्यमा आधारित पत्रकारिता गर्न आवश्यक छ ।
पार्टीको लोगो बोक्ने र व्यक्ति पछ्याउने प्रवृत्तिबाट माथि उक्सन सक्नु पर्दछ ।’ उनले आफ्नो पार्टीका नेताले कमजोरी गरे वा वदमासी गरे प्रेस संगठनकै पत्रकारले समाचार लेख्न सक्नुपर्ने धारणा राखेका छन् ।
दिक्तेलको हेलीप्याड भन्दा केहीमाथिको घरमा प्रेस संगठनको कार्यालय स्थापना गरिएको हो । प्रदेशसभा सांसद राई र नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक देवान किराती पृथ्वीले संगठनको कार्यालय उद्घाटन गरेका हुन् ।