सोमवार, भाद्र २८ २०७८
नेपाल वाइड
खोटाङ । भदौ २७, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको वडा कार्यालयमा ताला लगाइएको छ । असहमती जनाउँदा–जनाउँदै वडाबासीको अपायक पर्ने ठाउँमा वडा कार्यालयको भवन बनाइएको, एउटा प्लट जग्गा देखाएर दुई ठाउँको जग्गा वडा कार्यालयको नाममा पास गरेर ढाँट्ने काम गरिएको लगायतका आरोप लगाउँदै सोल्माका असन्तुष्ट स्थानीयले सोमबार वडा कार्यालयमा ताला लगाएका हुन् ।
जनता समाजवादी पार्टीका जिल्ला सदस्य धनीराम नछुङ, कांग्रेसका वडासभापति पदम पुरी र नेकपा माओवादी केन्द्रका वडा कमिटि अध्यक्ष सप्तमनी राईको अगुवाईमा गएका स्थानीयले कर्मचारीलाई बाहिर निकालेर वडा कार्यालयमा ताला लगाएका हुन् । वडा कार्यालय सोल्मामा ताला लागेको यो दोश्रो पल्ट हो ।
सोल्माको होस्माटोल साकेलाथान नजिकै भाडाको घरबाट सञ्चालन हुँदैआएको वडा कार्यालयलाई डाँडागाउँस्थित बसपार्क नजिकै निर्माण गरिएको नयाँ भवनमा सारिएपछि विवाद सुरु भएको हो । गत बैसाख २८ गते वडा कार्यालय सार्नेक्रममा पनि उनीहरुले अवरोध गरेका थिए ।
वडा कार्यालयको भवन बनाइएको जग्गा साँढे तीन रोपनी छ । सोभन्दा करिब तीन सय मिटर तल डेढ रोपनी जग्गा वडाको नाममा पास गरिएको असन्तुष्ट स्थानीय बताउँछन् ।
सोल्मामा स्थायी रुपमा वडा कार्यालय राख्ने विषयमा सुरुदेखि नै बिवाद थियो । अन्तिममा असहमतीकै बीच वडा कार्यालयलाई स्थायीरुपमा डाँडागाउँमा राख्ने टुंगो लगाइएकाले विरोध जनाउनु परेको स्थानीय एवं जसपाका जिल्ला सदस्य नछुङले बताए ।
‘बल मिच्याइ गरेर वडाको भवन बनाइयो । अहिले भवनको विरोध गरेको होइन । तर, किन टुक्रे जग्गामा बनाइयो भन्ने प्रश्न हो,’ नछुङले भने, ‘वडाको नाममा जग्गा पास हुन अगावै भवन निर्माण सुरु गरियो । टुक्रे जग्गा लिएर वडाबासीलाई एउटा प्लटमा भवन बनाउने भनेर छलछाम गर्ने काम गरियो ।’
वडा कार्यालयको भवन निर्माणका लागि तीन स्थानको जग्गा प्राप्त भएपछि उपयुक्त जग्गा छनौटका लागि नगरपालिकाका प्राविधिकलाई जिम्मा दिइएकामा सेटिङमा एउटै कित्ता भन्दै अपायक पर्ने दुई कित्ता जग्गा पास गराइएको नेकपा माओवादी केन्द्रका वडा कमिटि अध्यक्ष राईले बताए ।
फरक–फरक स्थानमा भएको खण्ड जग्गाको सट्टा प्लट भएको जग्गा छनौटका लागि महिना दिनको समयसीमा दिइएको भए पनि बेवास्ता गरिएको कांग्रेस वडा सभापति पुरीले बताए ।