Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जसले सामन्त विरुद्ध लड्दा १६ वर्षकै उमेरमा गोली खाए...

    जसले सामन्त विरुद्ध लड्दा १६ वर्षकै उमेरमा गोली खाए...


    • आइतवार, भाद्र २७ २०७८

    • नेपाल वाइड


    जसले सामन्त विरुद्ध लड्दा १६ वर्षकै उमेरमा गोली खाए...
    शरीरमा लागेको गोलीको खत देखाउदै कुमार राई ।

    खोटाङ । भदौ २६, केटाकेटी छँदा कुमार राईले आफ्नो आमा बावुबाट युद्धमा गोली लागेको, गोलीले ढलेको अनेक किस्साहरु सुन्थे । स्वयं आफ्नो बुवा दलबहादुर राई इन्डियन आर्मीबाट रिटायर्ड भएकाले आमा मधुमायाँबाट युद्धका विषयमा कैयौं कहानी सुन्ने अवसर पाएका थिए ।

    आङ नै सिरिङ हुने युद्धका कथा सुनेका कुमारले आफ्नै जीवनमा गोलीको चोट लाग्ला वा कुनै समय गोलीको शिकार हुनुपर्ला भनेर चैं सायदै सोचेका थिए ।

    तर, खोटाङको जन्तेढुंगा गाउँपालिका–३ काहुले सालम्बुका कुमारले शोषक सामन्त विरुद्ध लड्नेक्रममा विद्यार्थी जीवनमा १६ वर्षको उमेरमा २०३६ सालमा बन्दुकको तारो बन्नु पर्‍यो, गोलीको शिकार हुनुपर्‍यो ।

    पाकिस्थानका प्रधानमन्त्री जुल्फिकर अलि भुट्टोलाई फाँसिदिएको केही समय वितेको थियो । भुट्टो हत्यामा सुरु भएको विरोधको बाछिटा नेपालसम्म आइपुगेको थियो । त्यो विरोधले नेपालको राजनैतिक आन्दोलनलाई पञ्चायती व्यवस्था, त्योबेलाका शोषक र सामन्त विरुद्ध समेत तताएको थियो ।

    विद्यार्थी पनि आन्दोलित थिए । त्यो बेला कुमार चिसापानी माबिमा कक्षा ९ मा अध्ययनरत थिए । सँगै सोही विद्यालयका अनेरास्ववियु एकता पाँचौंको तदर्थ समितिका अध्यक्ष बनेका थिए ।

    त्यही समयमा छिमेकी जिल्ला भोजपुरको वासिङथर्पु (हाल आमचोक गाउँपालिका–१)मा तत्कालिन जिल्ला पञ्चायत सदस्य अमर कार्कीले गाईवस्तुले बाली खाएको निहुमा एक बालकलाई थुनाएको खबर फैलियो । जिल्ला पञ्चायत सदस्य कार्की विरुद्ध कुमार १६ जना विद्यार्थीको टोली लिएर वासिङथर्पुमा कोलपाटेको घर पुगे ।

    कोलपाटेको घर भोजपुर र खोटाङतर्फका विद्यार्थीले घेरा हालेका थिए । कार्कीलाई कोलपाटेको परेवाको गुँडमा लुकाइएको रहेछ । विद्यार्थीले निकालेर पाता कसेर लडाए ।

    प्रहरीको उपस्थितिमा घरभित्र वार्ता सुरु भयो । त्यहीबेला प्रहरीले फायर खोले । कुमारको छाती र देब्रे कोखामा रिभल्वरको गोली लागेको कुमार स्मरण गर्छन् ।

    विद्यार्थीको भागाभाग मच्चियो । त्यो दिन थियो २०३६ साल भदौ १९ गते । चिसापानी माबिबाट सँगै गएका अनेरास्ववियु एकता पाँचौंको तदर्थ समितिका सचिव केशर बस्नेतलाई पनि पाखुरामा गोली लागेको थियो । अन्य विद्यार्थी पनि घाईते भए ।

    रगत बगेर शरीर भिजेपछि र घाउबाट तातो रगत बाहिर निस्केपछि उनले आफुलाई गोली लागेको निश्चित गरेका थिए । केटाकेटीछँदा बुवाआमाले सुनाएको युद्धका कथा उनले त्यो बेला सम्झिए ।

    शिक्षक कुमार राई, हिमालधन राई लगायतको नेतृत्वमा जिल्ला पञ्चायत सदस्य विरुद्ध सो बिरोध चर्काइएको थियो । प्रदेश नम्बर १ का पुर्व मूख्यमन्त्री शेरधन राई समेत सो बिरोध कार्यक्रममा उपस्थित थिए ।

    कुमारको छाती र कोखामा लागेको गोली शरीरभित्रै थियो । गोलीले शरीर वारपार गरेको थिएन । उनलाई उपचारका लागि धरान झारियो । घोपा क्याम्पमा राजाको सिफारिस चाहिने भन्दै भर्ना लिन अस्वीकार गरियो । गोलीले लागेको भनेपछि उपचार पाउन कठिन थियो । अझ त्यो बेलाका शासक विरुद्ध लडेको भनेपछि उपचार पाउनु चानचुने कुरा थिएन ।

    त्यसपछि उनलाई कोशी अञ्चल अस्पताल बिराटनगनर पुर्‍याइयो । त्यहाँ पनि ठीक नभएपछि उनलाई बीर अस्पताल लगेर चार महिना उपचारमा राखेपछि उनी ठीक भए । उनको शरीरमा भएको गोली निकालियो । पक्राउ पर्ने डरले कतिपय घाईते उपचारमै नभएको कुमार बताउँछन् ।

    २०१९ साल मंसिर १ गते जन्मिएका कुमार साथीभाई माझ प्रखर वक्ताका रुपमा परिचित थिए । महाकारी सन्धीको विषयले एमाले बिभाजन हुँदा उनी मालेतिर लागे ।

    एमाले र माले एक ठाउँमा आएपछि एमालेको १२ नम्बर ईलाका इन्चार्ज, जिल्ला कमिटि सदस्य बने । राष्ट्रिय शिक्षक संगठनको सदस्य हुँदै सह–सचिवसम्म भए । शिक्षक युनियनको संस्थापक जिल्ला सदस्य पनि बने । ३५ वर्षे शिक्षण पेशाबाट २ वर्षअघि अवकाश लिएर बसेका राई हाल नेकपा (एकीकृत समाजवादी)का सचिवालय सदस्य छन् ।

    सम्बन्धित समाचार