शनिवार, भाद्र २६ २०७८
नेपाल वाइड
खोटाङ । भदौ २६, प्रसव व्यथाबाट गम्भीर बनेकी खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीका २९ वर्षीय तारा राईलाई हेलीकोप्टरबाट उद्धार गरिएको छ ।
गर्भवती भएको नौ महिना पुग्नु अगावै रक्त श्राव भएपछि जिल्ला अस्पताल दिक्तेलमा ल्याइएकी ताराको स्वास्थ्य अवस्था गम्भीर देखिएपछि महिला वालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगतको हवाई सेवा अन्तरगतको हेलीकोप्टरबाट शनिबार उद्धार गरिएको हो ।
जिल्ला अस्पतालको पत्रको आधारमा जिल्ला प्रशासन कार्यालयले महिला वालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाई समक्ष हेलीकोप्टर व्यवस्थापनका लागि सिफारिस गरेको आधारमा झिकाइएको हेलीकोप्टरबाट तारालाई सुविधा सम्पन्न अस्पताल पुर्याइएको हो ।
इटहरीबाट आएको नेपाली सेनाको हेलीकोप्टरबाट उनलाई कोसी अस्पताल बिराटनगर पुर्याइएको जिल्ला अस्पताल खोटाङका प्रमुख मेडिकल सुपरिटेण्डेण्ड डा. बैभव मल्लिकले बताए । रातीदेखि रक्त श्राव हुन थालेपछि तारालाई शनिबार बिहान जिल्ला अस्पताल पु¥याइएको थियो ।
रक्तश्राव भएको तथा माथि हुनुपर्ने साल तल रहेको पाइएपछि तत्काल अन्यत्र रेफर गरिएको डा. मल्लिकले बताए । ‘गर्भवती भएको आठ महिना भएको रहेछ ।
भिडियो एक्स–रे गर्दा पनि साल तल रहेको देखियो,’ डा. मल्लिकले भने, ‘तल साल रहनु र रगत बग्नु भनेको डेञ्जरको संकेत हो । वच्चाको अवस्था भने नर्मल छ ।’ राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत जिल्लाका दर्जनौं सुत्केरी/गर्भवती महिलाको उद्धार भएका छन् ।