शुक्रवार, भाद्र २५ २०७८
नेपाल वाइड
खोटाङ । भदौ २५, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्रअ नियुक्ती गर्नेगरी गरेको शिक्षक दरबन्दी मिलानका निर्णय विरुद्ध परेको रिट अदालतले खारेज गरिदिएको छ ।
नगरपालिकाका हरेक माबिमा स्थायी मावि शिक्षकलाई प्रअ बनाउने लक्ष्यकासाथ गरिएको दरबन्दी मिलान विरुद्ध परेको उत्प्रेषण, परमादेश, प्रतिषेध रिटलाई उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाले खारेज गरिदिएको हो । पटक–पटकको पेसी र बहसपछि बिहिबार अदालतले उक्त रिट खारेज गर्ने अन्तिम फैसला सुनाएको नगरपालिकाका शिक्षा शाखा संयोजक पदम कार्कीले बताए ।
२०७६ सालदेखि शैक्षिक सुधार वर्षको अभियान थालेको नगरपालिकाले २०७७ साल पुस १ गते दरबन्दी मिलान गर्दै सबै मावि तहकै शिक्षक पठाउने र तिनै मावि शिक्षकलाई प्रअको जिम्मेवारी दिलाउने तयारी गरेको थियो ।
सोही निर्णय विरुद्ध नगरवासी प्रदिप राई, शेषकुमार पौडेल र अकिल राईले उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगामा २०७७ साल पुस ९ गते रिट दायर गरेका थिए ।
अदालतको अन्तिम आदेशसँगै प्रअको जिम्मेवारी दिनेगरी गरिएको शिक्षक सरुवाको निर्णय कार्यान्वयन गर्न बाधा हटेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । ‘नगरपालिकाको निर्णय विरुद्ध परेको रिट नै अदालतबाट खारेज भएको छ,’ मेयर राईले भने, ‘नगरपालिकाले गरेको निर्णय बैधानिक छ, नितीगत छ । सोही निर्णय अनुसार काम गर्नु÷गराउनु भन्ने आदेस आएको छ ।’
नगरपालिकाको निर्णय अनुशार कतिपय मावि शिक्षक खटाइएको विद्यालयमा गइसकेका छन् भने कतिपय शिक्षकले दरबन्दी मिलानका क्रममा विभेद गरिएको भन्दै तोकिएको विद्यालयमा जान अस्वीकार गर्दैआएका थिए ।
कतिपय शिक्षक भने अदालतको फैसला पर्खेर बसेको नगरपालिकाले जनाएको छ । विद्यालयको शैक्षिक तथा प्रशासनिक सुधार गर्दै शैक्षिक गुणस्तर वृद्धिका लागि नगरपालिकाले माविमा मावि तहकै स्थायी शिक्षकलाई पठाउने निर्णय गरेको थियो ।
प्रावि वा आधारभुत तहका शिक्षक प्रअ हुने तर मावि तहका शिक्षक सहायक शिक्षक हुने व्यवस्था अन्त्य गर्दै माथिल्लो तहका स्थायी शिक्षकलाई नेतृत्व दिनेगरी हरेक माबिमा स्थायी शिक्षकको व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको मेयर राईले बताए ।
नगरपालिकाको यो निर्णयले प्रावि वा आधारभुत तहका शिक्षकलाई मावि तहको प्रअ हुनबाट रोक लगाएको छ । उच्च शिक्षा हासिल गरेका तथा क्षमतावान शिक्षकले माविको नेतृत्व पाउँदा अन्य शिक्षकको मनोवल समेत उच्च हुने नगरपालिकाले दावी गरेको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन र एकिकृत अखिल नेपाल शिक्षक संगठन हलेसी तुवाचुङ नगर कमिटिले भने शिक्षकको विभेदपूर्ण सरुवा गरिएको भन्दै बिरोध जनाउँदै आएको छ ।
अदालतमा विचाराधिन रहेकै अवस्थामा नगरपालिकाले सम्वन्धित तहका स्थायी शिक्षकलाई असार मसान्तभित्र नियमानुसार प्रअको नियुक्ति प्रकृया अगाडि बढाएर नगर शिक्षा शाखामा जानकारी गराउन गत असार २४ गते पत्राचार गर्दा पनि शिक्षक संगठनको बिरोध आएको थियो । ११ वडा रहेको नगरपालिकामा १२ वटै माबि छन् ।