Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    चार महिनापछि खुल्यो गोरखाको मनकामना मन्दिर

    चार महिनापछि खुल्यो गोरखाको मनकामना मन्दिर


    • बुधवार, भाद्र २३ २०७८

    • नेपाल वाइड


    चार महिनापछि खुल्यो गोरखाको मनकामना मन्दिर
    फायल तस्बिर

    गोरखा । नेपालको प्रसिद्ध धार्मिक गन्तव्यका रूपमा चिनिने गोरखाको मनकामना मन्दिर करिब चार महिनापछि आजदेखि खुलेको छ । कोभिड–१९ को संक्रमणको जोखिमका कारण गत वैशाख २३ गतेदेखि पूजाआजा गर्न रोक लगाइएको मनकामना मन्दिर भक्तजनका लागि पूजा गर्न खुला गरिएको मन्दिरका मूलपुजारी इन्सानबहादुर थापामगरले जानकारी दिए ।

    मनकामना क्षेत्र विकास समितिले मन्दिरमा सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्ने गरी सर्वसाधारणका लागिसमेत पूजाआजा गर्न मन्दिर खोल्ने निर्णय गरेसँगै आजदेखि मन्दिर सर्वसाधारणका लागि खुला गरिएको उनले बताए ।

    “आज बिहान नियमित रूपमा गरिने नृत्यपूजा गरेर सर्वसाधारणलाई पनि पूजाआजाका लागि मन्दिरमा प्रवेश गराइएको छ, मूलपुजारी थापाले भने, “पुजारी र भक्तजनको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर तत्कालका लागि मन्दिरबाहिरको झ्यालबाट पूजा सामग्री पुजारीलाई दिने गरी व्यवस्था मिलाइएको छ ।” मन्दिरमा भाकल बुझाउन आउने भक्तजनका लागि बलि दिने स्थानमा समेत छुट्टै पुजारीको व्यवस्था मिलाइको उनले बताए ।

    चार महिनापछि मन्दिर खुला भएको पहिलो दिनमै सयौँ भक्तजन पूजापाठका लागि आएको मूलपुजारी थापाले जानकारी दिए । मन्दिरमा पुग्ने भक्तजनले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्नेलगायत व्यवस्थासमेत गरिएको उनको भनाइ छ ।

    यता, मन्दिर परिसरमा पुग्ने भक्तजनको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी मन्दिर परिसरमै हेल्थ डेस्कसमेत स्थापना गर्ने तयारी गरिएको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिए ।

    यसैबीच, कोरोना संक्रमणको जोखिमका कारण बन्द रहेको गोरखाको अर्को प्रसिद्ध धार्मिक गन्तव्यको रूपमा चिनिने गोरखा दरबारस्थित कालिका मन्दिर पनि आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । रासस

    सम्बन्धित समाचार