सोमवार, भाद्र २१ २०७८
नेपाल वाइड
खोटाङ । भदौ २१, खोटाङमा थप दुई जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका वडा सदस्य हरिबहादुर राई र केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका वडा सदस्य रामकुमार बस्नेतले सोमबार जिल्ला निर्वाचन कार्यालय खोटाङमा पुगेर एमाले छाड्दै नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका छन् ।
वडा सदस्य राई र बस्नेतले नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष बबी चाम्लिङ र नेकपा (एकीकृत समाजवादी)का प्रदेश कमिटि सदस्य उदयबहादुर कार्कीसहित निर्वाचन कार्यालय पुगेर सनाखत गरेका हुन् । यससँगै जिल्ला निर्वाचन कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्ने जनप्रतिनिधिको संख्या १० पुगेको छ ।
एमालेबाट अलग्गिएका माधव नेपालले नेकपा (एकीकृत समाजवादी) दल दर्ता गरेसँगै निर्वाचन आयोगले दल रोज्नका लागि भदौ २२ गतेसम्मको समय सीमा दिएपछि आइतबार आठ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका थिए ।
एमालेबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख रहेका चाम्लिङ, जिल्ला समन्वय समितिका सदस्य रहेका कार्की, जिल्ला समन्वय समितिका सदस्य रञ्जना राई, बराहपोखरी गाउँपालिका–४ फाक्टाङका वडाध्यक्ष भुवलराज राई, बराहपोखरी गाउँपालिका–५ पौवासेराका वडा सदस्य हरिबहादुर मगर, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ वडा सदस्य अनुप चाम्लिङ राई, जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका वडा सदस्य प्रकाश राई र महिला सदस्य रञ्जना राईले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरिसकेका छन् ।
नयाँ दल रोज्ने केही जनप्रतिनिधिले पनि क्रमशः सनाखत गर्ने नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष चाम्लिङले बताए । चाम्लिङ एमालेको जिल्ला अध्यक्ष छाडेर नेकपा (एकीकृत समाजवादी)को नेतृत्व सम्हाल्न पुगेका हुन् ।
एमालेबाट निर्वाचित खोटाङका प्रदेशसभा सदस्य राजन राईले यसअघि नै नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरिसकेका छन् । प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई र प्रदेशसभा सांसद उषाकला राई भने एमालेमै रहेका छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख तथा उपप्रमुख पनि एमालेमै रहेका छन् । स्थानीय तहको निर्वाचनमा एमालेले जिल्लाका १० स्थानीय तहमध्ये पाँच स्थानीय तहमा प्रमुख र उपप्रमुख तथा दुई स्थानीय तहमा उपप्रमुख जितेको थियो ।
एमालेबाट निर्वाचित अधिकांश वडाध्यक्ष र वडा सदस्य पनि एमालेमै रहने देखिएको छ । एमालेको २०७२ सालमा सम्पन्न अधिबेसनमा निर्वाचित ५९ सदस्यमध्ये अध्यक्ष चाम्लिङ सहित २३ सदस्य आफ्नो पार्टीमा लागेको नेकपा (एकीकृत समाजवादी)का जिल्ला सचिव जलसेर राईले बताए ।