शनिवार, भाद्र १९ २०७८
नेपाल वाइड
खोटाङ । भदौ १९, खोटाङका ७७ वडामा नेपाली कांग्रेसको वडा अधिबेसन टुंगिएको छ । नेपाली कांग्रेसको १४ औं महाधिबेसन अन्तरगत जिल्लाको ७९ वडामध्ये ७७ वडाको अधिबेसन मतदान एवं सर्वहमतीय ढंगबाट टुंगिएको हो ।
७० वडामा सर्वसहमत र ७ वडामा निर्वाचनका माध्यमबाट नेतृत्व टुंग्याइएको नेपाली कांग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशीले बताए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाको अधिबेसन शुक्रबारदेखि स्थगित छ ।
विवादका कारण दिप्रुङ चुईचुम्मा गाउँपालिकाको याम्खाको मत गणना शनिबार दिउँसोदेखि रोकिएको छ । निर्मलीडाँडा र याम्खा बाहेक अन्य वडाको अधिबेसन टुंग्याइसकिएको कांग्रेसले जनाएको छ ।
दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईको वडा याम्खामै घम्साघम्सी चुनावी प्रकृया अघि बढेको हो । याम्खामा नेत्रकुमार राई र रामचन्द्र राई वडा सभापतिका लागि चुनावी मैदानमा उत्रिएका छन् ।
यस्तै, चुनावका लागि वडा सभापतिको मनोनयन दर्ता गर्ने क्रममा विवाद भएपछि निर्मलीडाँडाको वडा अधिबेसन स्थगित गरिएको हो । वडा सभापतिका लागि मनोनयन दर्ता गर्ने क्रममै विवाद भएपछि सहमती गरेर वडा अधिबेसन स्थगित गरिएको सूचना टाँस गरिएको मतदान अधिकृत घनश्याम आचार्यले बताए ।
निर्मलीडाँडामा वडा सभापतिका लागि वर्तमान अध्यक्ष देशकुमार राई, विष्णुप्रसाद ढकाल, प्रेमकुमार राई र रमाहाङ राई आकांक्षी देखिएका छन् । दुई उम्मेद्वारबिचको पुरानो मतभेद तथा तुषको विषयले उम्मेद्वारी मनोनयनका क्रममा विवाद निम्तिएको कांग्रेस श्रोतले बताएको छ ।
सहमती नजुट्दा दिप्रुङ चुईचुम्मा गाउँपालिकाको डाँडागाउँ र बतासे, जन्तेढुंगा गाउँपालिकाको चिसापानी र काहुले, केपिलासगढी गाउँपालिकाको बाक्सिला र सुंदेल तथा ऐसेलुखर्क गाउँपालिकाको बाकाचोलमा मतदानका माध्यमबाट वडा अधिबेसन टुंग्याइएको हो ।
कांग्रेसका ६ हजार ८०० क्रियासिल सदस्य रहेको जिल्लाको हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी गाउँपालिका, खोटेहाङ गाउँपालिका, साकेला गाउँपालिका र बराहपोखरी गाउँपालिकाका सबै वडामा सर्वसहमतढंगबाट वडा अधिबेसन सम्पन्न भएको छ ।
कांग्रेसको वडा अभिबेसनबाट वडा सभापति सहित २३ सदस्यीय वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयन गर्ने व्यवस्था छ । कांग्रेसको उपल्लो पदमा लड्नका लागि क्षेत्रीय प्रतिनिधि अनिवार्य चुनिनुपर्ने भएकाले क्षेत्रीय प्रतिनिधि चयनमा मारामार हुने गरेको छ ।