शुक्रवार, भाद्र १८ २०७८
नेपाल वाइड
खोटाङ । भदौ १८, खोटाङका २० वडामा कांग्रेसको सर्वसहमत वडा कार्य समिति चयन गरिएको छ । शुक्रबार जारी अधिबेसनका क्रममा जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ वडामध्ये २० वडाको नेतृत्व सर्वसहमत चयन भइसकेको कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताए ।
सहमती जुटेको वडामा निर्विरोध वडा कार्य समिति चयन गरिएको र सहमती जुट्न नसकेको वडामा चुनावी प्रकृया अघि बढाइएको कांग्रेसले जनाएको छ । जिल्लाकै ठूलो नगरपालिका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा सदस्य पदका लागि चुनावी प्रकृया अघि बढेको छ ।
वडा सभापति, खुला महिला, जनजाती खुला, जनजाती महिला लगायतमा सहमती जुटे पनि खुला सदस्य, दलित खुला र खस आर्यन खुलामा चुनाव हुन लागेको कांग्रेस सचिव जोशीले बताए ।
यस्तै, ७ वडा रहेको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको छितापोखरी र सछितापोखरी बाहेकका वडामा चुनाव हुने देखिएको छ । गाउँपालिका अध्यक्ष भूपेन्द्र राईको वडा याम्खामै घम्साघम्सी चुनावी प्रकृया अघि बढेको छ । याम्खामा नेत्रकुमार राई र रामचन्द्र राई वडा सभापतिका लागि चुनावी मैदानमा उत्रिएका छन् ।
यस्तै, भूपेन्द्र राई र नइन्द्र राई लगायत क्षेत्रीय प्रतिनिधिमा उठेका छन् । यस्तै, ६ वडा रहेको जन्तेढुंगा गाउँपालिकाको काहुले र चिसापानीमा वडा कार्य समितिको नेतृत्व र क्षेत्रीय प्रतिनिधिका लागि निर्वाचन हुँदै छ ।
केपिलासगढी गाउँपालिकाको सुंदेलमा चुनावबाट इच्छाबहादुर पौडेल वडा सभापतिमा विजयी भएको कांग्रेसका संगठन विभाग प्रमुख समिर राईले बताए । केपिलासगढीका अन्य वडामा सहमतीको प्रयास भइरहेको जनाइएको छ ।
कांग्रेसको वडा अभिबेसनबाट वडा सभापति सहित २३ सदस्यीय वडा कार्य समिति र १७ जना क्षेत्रीय प्रतिनिधि चयन गर्ने व्यवस्था छ । कांग्रेसको उपल्लो पदमा लड्नका लागि क्षेत्रीय प्रतिनिधि अनिवार्य चुनिनुपर्ने भएकाले क्षेत्रीय प्रतिनिधि चयनमा मारामार हुने गरेको छ ।