Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    शिक्षा

    शैक्षिक क्षेत्र पुनः सामान्य अवस्था तर्फ फर्कदै

    शैक्षिक क्षेत्र पुनः सामान्य अवस्था तर्फ फर्कदै


    • बिहिवार, भाद्र १७ २०७८

    • नेपाल वाइड


    शैक्षिक क्षेत्र पुनः सामान्य अवस्था तर्फ फर्कदै
    तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित तालबेसी माध्यमिक विद्यालयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गरिँदै । शुक्लागण्डकी नगरपालिकाले अनुमति दिएपछि यहाँका विद्यालय चार महिनापछि सञ्चालनमा आएका छन । तस्वीर : कृष्ण न्यौपाने/रासस

    काठमाडौँ । कोरोना महामारीका कारण लामो सयमदेखि थला परेको शैक्षिक क्षेत्र पुनः सामान्य अवस्था तर्फ फर्कन लागेको छ । कोरोना संक्रमण दर घटेको भन्दै काठमाडौँ लगायत विभिन्न जिल्लाका स्थानीय तहहरुले विस्तारै विद्यालय खोल्न थालेका छन् । विद्यालय खुल्न थालेसँगै शैक्षिक क्षेत्रले पुरानै लय समात्न खोजेको हो ।

    विद्यालयले सञ्चालन गरेको वैकल्पिक शिक्षा (अनलाइन कक्षा) प्रभावकारी नहुँदा शिक्षकहरु विद्यालय खोल्नुपर्ने पक्षमा छन् भने विद्यार्थीहरु पनि विद्यालयमै गएर पढ्न पाए हुथ्यो भन्ने सोचमा छन् । आफ्ना बालकालिकाको शैक्षिक स्तर खस्किँदै गएपछि अभिभावकहरु पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर विद्यालय खोल्नुपर्छ भन्ने पक्षमा देखिन्छ ।

    काठमाडौँको गोर्कणेश्वर नगरपालिकाले गत भदौँ १५ गतेदेखि विद्यालय सञ्चालन गरेको छ । उपत्यका बाहिरी जिल्ला, काभ्रे, तनहुँ, हुम्ला, जुम्ला लगायतका स्थानीय तहहरुले यसअघि नै भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गरिसकेका छन् ।

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पनि सरकारले जारी गरेको ‘स्मार्ट लकडाउन सम्बन्धि कार्यविधि २०७८’ अनुसार विद्यालय तथा कलेज सञ्चालन कार्ययोजना निर्माण गरेर कोरोना संक्रमण कम भएका स्थानीय तहहरुले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)सँग समन्वय गरेर विद्यालय खोल्न सक्ने गरी कार्ययोजना स्वीकृत गरिसकेको छ ।

    मन्त्रालयले कार्ययोजनामा, कडा लकडाउन (हार्ड) भएको स्थानका विद्यालयमा कसरी अध्यापन गराउने, मिक्सड लकडाउन भएको स्थानका विद्यालयमा के गर्ने, सफ्ट लकडाउ र मिनीमल लकडाउन भएका स्थानीय तह तथा जिल्लाका विद्यालयहरु कसरी सञ्चालन गर्ने, विद्यार्थीको अध्यापनलाई कुन माध्यमबाट अघि बढाउने लगायत विषयहरु समेटिएको छ ।

    शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार सरकारले जारी गरेको ‘स्मार्ट’ लकडाउनका आधारमा रेड जोन र गाढा पहेलो भएको क्षेत्रका विद्यालयहरुमा वैकल्पिक माध्यमबाट अध्यापन गराउनुपर्ने छ । त्यसका लागि सरकारले ‘विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७’ जारी गरेको छ ।

    उक्त निर्देशिका विद्यार्थीलाई पाँच भागमा विभाजन गररे विद्यार्थीको प्राविधिक पहुँचको आधारमा वर्गीकरण गरिएको छ । उक्त निर्देशिका अनुसार सम्बन्धित स्थानीय तह र विद्यालयले आफ्ना विद्यार्थीको पहुँचको आधारमा विद्यार्थीको पढाइलाई अघि बढाउनुपर्ने हुन्छ ।

    सीसीएमसीले कोरोना संक्रमणको अवस्था न्यून रहेको भनी (पहेँलो) क्षेत्र उल्लेख गरेका स्थानीय तह वा जिल्लामा आलोपालो गरेर विद्यार्थीलाई बोलाएर पढाइ अघि बढाउन सकिने शर्माले बताए ।

    यस्तो क्षेत्रका विद्यालयले विद्यार्थीलाई बोलाएर आवश्यक गृहकार्य दिएर आलोपाले प्रणालीमा पढाउन सक्ने उनको भनाइ छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)ले ग्रीन जोन भनेर तोकेको जिल्ला वा स्थानीय तहका विद्यालय भने पूर्ण रुपमा खोल्न पाइनेछ ।

    यसरी विद्यालय खोल्दा शिक्षा मन्त्रालयले जारी गरेको ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७’मा उल्लेख भए बमोजिम स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय सञ्चालन गर्नुपर्ने शर्माले बताए । उक्त कार्यढाँचामा विद्यालय खोल्नुपूर्व के गर्ने, कक्षा कोठामा विद्यार्थीलाई कसरी राख्ने लगायत विभिन्न स्वास्थ्य सुरक्षाको विषय समेटिएको छ ।

    सम्बन्धित समाचार