Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    स्वेच्छिक रूपमा काका–ससुराले पनि मिर्गौला दिन पाउँछन्

    स्वेच्छिक रूपमा काका–ससुराले पनि मिर्गौला दिन पाउँछन्


    • बिहिवार, भाद्र १७ २०७८

    • नेपाल वाइड


    स्वेच्छिक रूपमा काका–ससुराले पनि मिर्गौला दिन पाउँछन्
    फायल तस्बिर

    काठमाडौं । सर्वोच्च अदालतले विषयमा मानव अंग प्रत्यारोपण ऐनमा भएको व्यवस्थाको फराकिलो व्याख्या गरेको छ । अदालतले अंग प्रत्यारोपण ऐनको व्याख्या गदैै अब मिर्गौलाको दान नजिकको नातेदारले पनि गर्न सक्ने आदेश गरेको छ ।

    मिर्गौला दान गर्न सक्ने नजिकको नातेदारको विषयमा मानव अंग प्रत्यारोपण ऐनमा भएको व्यवस्थाको थप व्याख्या गर्दै सर्वोच्चले काका–ससुराबाट पनि मिर्गौला दान लिन सक्ने आदेश सुनाएको छ । मिर्गौला प्रत्यारोपण गर्नुपर्ने झापाकी एक बिरामीले दायर गरेको रिटमा न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले काका–ससुराबाट मिर्गौला लिन सक्ने आदेश दिएको हो ।

    मानव अंग प्रत्यारोपणमा सर्वोच्चको व्याख्या

    मिर्गौला प्रत्यारोपण गर्नुपर्ने झापाकी एक बिरामीलाई भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले काका–ससुरा नजिकको नातेदारमा नपर्ने भन्दै उनको मिर्गौला प्रत्यारोपण गर्न इन्कार गरेको थियो ।

    ती बिरामीलाई उनका काका–ससुराको मिर्गाैला उनको मन्जुरीमा प्रत्यारोपणका लागि चिकित्सकीय सहमति माग गर्दा प्रचलित मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ को (पहिलो संशोधन, २०७२) को दफा २ को खण्ड (ठ)को कानुनी व्यवस्थाबमोजिमको नजिकको नातेदार नभएको भन्दै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र प्रत्यारोपण गर्न इन्कार गरेको थियो ।

    काका–ससुरा मिर्गौला दान गर्न राजी हुँदा पनि अस्पतालले प्रत्यारोपण गर्न इन्कार गरेपछि सोविरुद्ध उनले सर्वोच्च अदालतमा रिट दिएकी थिइन् । उनको रिटमा सुनुवाइ गर्दैै सर्वोच्चले भनेको छ, ‘ऐनको मूल उद्देश्य मानव अंग प्रत्यारोपणलाई नियमित गर्ने र मानव अंगको खरिद बिक्रीजस्ता क्रियाकलापलाई निषेध गर्ने रहेको देखिन्छ । ‘काका–ससुरालाई ऐनमा स्पष्ट रूपमा (प्रत्यारोपणका लागि) बाहेक गरेको देखिँदैन ।’

    ‘नेपालको संविधानको धारा १६ ले जीवन रक्षालाई मौलिक हकका रूपमा प्रत्यापन गर्नका साथै मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ ले प्रावत ऐनको मूल उद्देश्य नै मानव अंग प्रत्यारोपणलाई नियमित गर्ने र मानव अंगको खरिदबिक्रीजस्ता क्रियाकलापलाई निषेध गर्ने रहेको देखिन्छ’, फैसलामा भनिएको छ, ‘मानव अंग प्रत्यारोपण सम्बन्धमा पूजा खत्रीविरुद्ध नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडौंसमेत (०६९–डब्लु व–००५९)को मुद्दामा समेत मानव अंग प्रत्यारोपण सम्बन्धमा नजिकको नातेदारको सम्बन्धमा फराकिलो तवरबाट कानुनी व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको भन्ने व्याख्या गरेको देखिन्छ । काका–ससुरालाई मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ को (पहिलो संशोधन, २०७२) को दफा २ को खण्ड (ठ)ले स्पष्ट रूपमा बाहेक गरेको देखिँदैन ।’

    ‘प्रस्तुत ऐनले विभिन्न नाताको उल्लेख गर्दै ससुुरा नाताको व्यक्तिलाई नजिकको नातेदारको परिभाषामा समेटेको स्थितिमा सो मिर्गौला प्रत्यारोपण कार्य स्वयंमा मानव जीवन रक्षासँग सम्बन्धित भएको, मिर्गौला प्रत्यारोपण गर्न काका–सुुसुुरा मन्जुरी भएको र सो कार्यलाई निषेध गर्नुपर्ने आधारभूत कारण छैन, आदेशमा भनिएको छ, ‘काका–ससुरालाई स्वेच्छिक दान गरी भाइ बुहारीको जीवन रक्षामा योगदान पुर्‍याउने पवित्र मानवीय दृष्टिकोणसमेतबाट वञ्चित गर्न नमिल्ने हुँदा प्रत्यर्थी शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको मिति २०७८-४-२२ को पत्र एवं सोसँग सम्बद्ध निर्णय उत्प्रेषणका आदेशद्वारा बदर हुने ठहर्छ ।’ राजधानी दैनिक 

    सम्बन्धित समाचार