मंगलवार, भाद्र १५ २०७८
नेपाल वाइड
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । नेकपा (एमाले)बाट निर्वाचित १२ सांसदले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेसँगै उनको पद धरापमा परेको हो ।
एमालेबाट निर्वाचित प्रदेश सांसदहरू राजेन्द्र पाण्डे, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल, वसुन्धरा हुमागाईं, वसन्त मानन्धर, रमा आलेमगर, कुसुम कार्की, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, मनु सिग्देल, माधव पौडेल र कृष्ण खनालले आज (एकीकृत समाजवादी)मा सनाखत गरेका छन् । खनाल अहिले प्रदेश सरकारमा सामाजिक विकासमन्त्री छन् ।
नेकपा (एमाले)मा माधवकुमार नेपाल समूहमा रहँदै आएकी शाक्यले पार्टी विभाजनमा उनलाई साथ दिइनन् । उनी यही भदौ २ गते मुख्यमन्त्री बनेकी थिइन् । एमालेको एकल बहुमत रहेकाले उनी संविधानको धारा १६८ (१) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएकी थिइन् ।