शुक्रवार, भाद्र ११ २०७८
नेपाल वाइड
खोटाङ । भदौ ११, खोटाङको जन्तेढुंगा गाउँपालिकामा केन्द्रिय विद्युत विस्तारका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सिफारिस दिएको छ । जन्तेढुंगा गाउँपालिका–१ देविस्थानदेखि जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङसम्म विद्युत विस्तार योजना सञ्चालनका लागि कांग्रेस महाधिबेसन प्रतिनिधि भूपेन्द्र राई, कांग्रेस जन्तेढुंगा उपसभापति बाजिन्द्र बिष्ट र कोषाध्यक्ष अनिता राईले दिएको निवेदनका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बिहिबार उर्जा, सिँचाई तथा जलश्रोत मन्त्रालय, सिंहदरबार समक्ष सिफारिस गरेको हो ।
जन्तेढुंगा गाउँपालिका–३ काहुले, जन्तेढुंगा गाउँपालिका–४ डम्वर्खुशिवालय, जन्तेढुंगा गाउँपालिका–५ चिसापानी र जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा आंशिक विद्युत विस्तार भइसके पनि जन्तेढुंगा गाउँपालिका–१ देविस्थान र जन्तेढुंगा गाउँपालिका–२ बोपुङमा हालसम्म पूर्णरुपमा विद्युत विस्तार भएको छैन ।
आंशिक विद्युत विस्तार भएको वडामा पूर्णरुपमा विद्युत विस्तार गर्न र विद्युत पुग्दैनपुगेका वडामा विद्युत विस्तारका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कांग्रेस भदौ १ गते निवेदन दिइएको थियो ।
देश उज्यालो भइरहँदा जन्तेढुंगा गाउँपालिकाका जनताले विजुली उपभोग गर्न नपाउँदा सास्ती खेपिरहेकाले यसै वर्ष गाउँपालिकाको बढिभन्दा बढि जनताका घरधुरीमा केन्द्रिय विद्युत विस्तार गर्दै उज्यालो जन्तेढुंगा बनाउनका लागि निवेदन दिइएको कांग्रेस जन्तेढुंगा उपसभापति बिष्टले जानकारी दिए । निवेदनमा खोटाङको समग्र विकासका लागि समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।