Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    खोटेहाङमा आयुर्वेद शाखाको भवन उद्घाटन

    खोटेहाङमा आयुर्वेद शाखाको भवन उद्घाटन


    • बुधवार, भाद्र ९ २०७८

    • नेपाल वाइड


    खोटेहाङमा आयुर्वेद शाखाको भवन उद्घाटन
    खोटाङबजारमा निर्माण गरिएको आयुर्वेद शाखाको भवन ।

    खोटाङ । भदौ ९, खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा आयुर्वेद शाखाको भवन निर्माण गरिएको छ । गाउँपालिकाको केन्द्र खोटाङबजारमा निर्माण गरिएको खोटेहाङ गाउँपालिका आयुर्वेद शाखाको नवनिर्मित भवन बुधबार गाउँपालिका अध्यक्ष प्रदीप राईले उद्घाटन गरेका छन् ।

    २०७२ साल असार २० गते स्थापना गरिएको आयुर्वेद शाखाको तल्लो तलामा तीन कोठा र माथिल्लो तलामा तीन कोठा भएको भवन निर्माण गरिएको हो । स्वास्थ्य मन्त्रालयको ८२ लाख ५० हजार (भ्याट बाहेक)को खर्चमा आयुर्वेद शाखाको भवन निर्माणको काम सम्पन्न गरिएको हो । भवन अभावमा आयुर्वेद शाखाले भाडाको घरबाट सेवा प्रवाह गर्दैआएको थियो ।

    सघन शहरी तथा भवन निर्माण आयोजनामार्फत प्राप्त भएको बजेटबाट चरम ढिलासुस्ती र अलमलका बिचमाभवन निर्माणको काम पुरा गरिएको हो । गोर्खा अर्जुन जेभी कन्ट्रक्सनले ठेक्का लिएको भवनको पटक–पटक पेटी ठेकेदार परिवर्तन गरिएको थियो ।

    Ayurbed aspatal.jpg

    आयुर्वेद शाखाको भवन उद्घाटनका क्रममा बोल्दै खोटेहाङ गाउँपालिका अध्यक्ष प्रदीप राई ।

    अन्तिममा स्थानीय निर्माण व्यवसायी राम कार्कीले आयुर्वेद शाखाको अधुरो काम पुरा गरेको गाउँपालिकाले जनाएको छ । कहिले बेलामा बजेट नआउँदा र कहिले निर्माण व्यवसायीका कारण आयुर्वेद शाखाको भवन निर्माणको काममा ढिलासुस्ती भएको बताइएको छ ।

    आयुर्वेद शाखाको औषधि खरिदका लागि गाउँपालिकाको प्रत्येक वर्ष ३ लाख वजेट उपलव्ध गराउने गरेको जनाएको छ । आयुर्वेद शाखाबाट खोटेहाङ गाउँपालिका सहित, जन्तेढुंगा गाउँपालिका, बराहपोखरी गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकाका सर्वसाधारण लाभान्वित भइरहेका छन् ।

    आयुर्वेद औषधिले ‘साइड इफेक्ट’ नगर्ने भएकाले पछिल्लो समय स्वास्थ्य सेवाका लागि आयुर्वेद शाखामा चेकजाँज गर्न आउने स्थानीय बढेको गाउँपालिका अध्यक्ष राईले बताए । आयुर्वेद शाखाको भवन उद्घाटनकाक्रममा गाउँपालिकाभित्रका जनप्रतिनिधि, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षाकर्मी, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार