Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    उर्जा

    सोलारबाट विद्युत् उत्पादन

    सोलारबाट विद्युत् उत्पादन


    • मंगलवार, भाद्र ८ २०७८

    • नेपाल वाइड


    सोलारबाट विद्युत् उत्पादन
    फायल तस्बिर

    तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा निर्माणाधीन सोलार आयोजनाबाट भदौसम्म विद्युत् उत्पादन हुने भएको छ । भदौ १५ गतेभित्र पाँच मेगावाट विद्युत् उत्पादन गर्ने गरी धमाधम काम भइरहेको आयोजनाले जनाएको छ ।

    विसं २०७६ साउनमै निर्माण सम्पन्न भइसक्नुपर्ने आयोजना कोरोना कहरका कारण ढिलाइ भएको सोलार फार्म प्रालिका व्यवस्थापक हरिकुमार श्रेष्ठले जानकारी दिए ।

    “सम्झौताअनुसार पहिल्यै विद्युत् उत्पादन भइसक्नुपर्ने थियो तर कोरोना कहरका कारण काममा ढिलाइ हुँदा प्रगति हुन सकेन”, उनले भने, “अहिले काम लगभग अन्तिम चरणमा पुगिसकेको छ ।”

    उहाँका अनुसार अहिले दैनिक ४० बढी कामदारले आयोजनाको काम गरिरहेका छन् । “६० प्रतिशत सोलार पाता हालिसकिएको छ, भदौ १५ गतेभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित काम तीव्र पारिएको छ”, श्रेष्ठले भने ।

    उनका अनुसार केही दिनदेखि परेको वर्षाका कारण पनि काम प्रभावित भएको थियो । आयोजनामा १३ हजार ४९४ वटा सौर्य प्यानल जडान हुनेछन् । सोलार फार्म प्रालिले तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित भानुभक्त क्याम्पसको १०० रोपनी जग्गामा काम गरिरहेको छ ।

    आयोजनामा बेलायतमा बसोबास गर्ने नेपालीले स्थापना गरेको ‘नेपाल कर्पोरेटिभ इन्भेष्टमेन्ट समूह’ले लगानी गरेको छ । आयोजना सम्पन्न गर्न रु ६० करोड अनुमान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणसँग विसं २०७५ साउनमा विद्युत् खरिद सम्झौता (पिपिए) हुँदा आयोजनाबाट विसं २०७६ साउनदेखि विद्युत् उत्पादन सुरु गर्ने तालिका थियो ।

    सुरुमा प्रसारण सम्झौता हुँदा उत्पादन हुने विद्युत् दमौली सबस्टेशनमा जोडिने भनिएको थियो । अहिले ५०० मिटर दूरीको बेलचौतारा सबस्टेशनमा जोड्ने गरी प्राधिकरणसँग प्रसारण सम्झौता संशोधन गरिएको छ । आयोजना सम्पन्न हुँदा दैनिक ३० हजार युनिट विद्युत् उत्पादन गर्न सकिने कम्पनीले जनाएको छ ।

    आयोजनाले उत्पादन गरेको विद्युत् प्राधिकरणले २५ वर्षसम्म प्रतियुनिट रु ७।३० मा खरिद गर्नेछ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार गरेको ‘ग्रिड कनेक्टेड सौर्य विद्युत् विकाससम्बन्धी कार्यविधि २०७४’ अनुसार प्राधिकरणसँग पिपिए गर्ने यो पहिलो सौर्य विद्युत् आयोजना हो । रासस 

    सम्बन्धित समाचार