सोमवार, भाद्र ७ २०७८
नेपाल वाइड
काठमाडौं । नेपाली काँग्रेसले क्रियाशील सदस्यताको विवाद टुङ्ग्याएको छ । सोमबार क्रियाशील सदस्यता छानविन समितिले टुंगो लगाउन बाँकी समस्या समाधान भएसँगै काँग्रेसमा क्रियाशील सदस्यता विवाद टुङगिएको हो ।
छानविन समितिले केही ठाउँमा बाहेकको क्रियाशील सदस्यता टुङ्ग्याएर साउन १२ गते नै प्रतिवेदन बुझाएको थियो । तर छानविन समितिले बारा र सप्तरी, धनुषा–४ सर्लाही–२ लगायतको नयाँ क्रियाशील सदस्यता र अन्तर पार्टी समायोजनमा चर्को विवाद टुंग्याउने जिम्मा नेतृत्व तहमा पठाएको थियो ।
उक्त विवाद टुङ्ग्याउन सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला सम्मिलित उच्चस्तरीय समिति बनाइएको थियो । उच्चस्तरीय समितिमा सह-महामन्त्री प्रकाशशरण महत, नेता मिनेन्द्र रिजाल र रमेश लेखकलाई सहयोगीका रूपमा राखिएका थियो ।
साउन ३१ बाट छलफलमा जुटेका सिटौला, रिजाल र लेखकले क्रियाशील सदस्यता विवादमा सहमति जुटाएका हुन् । विवाद समाधान भएसँगै नेतात्रयले क्रियाशील सदस्यताको प्रतिवेदन सभापति देउवा र वरिष्ठ नेता पौडेललाई बुझाएको छ । सोमबार साँझ देउवाको निजी निवास बूढानीलकण्ठमा उनीहरुले देउवा र पौडेललाई प्रतिवेदन बुझाएका हुन् ।