शुक्रवार, भाद्र ४ २०७८
नेपाल वाइड
काठमाण्डौ । नेकपा एमालेका १४ जना सांसद बिहीबार बिहान ११ बजेतिर सभामुखको कार्यकक्ष प्रवेश गरेका थिए । छलफल चल्दाचल्दै सभामुख र एमाले सांसदहरुबीच चर्काचर्की पर्यो । त्यहाँ भएको चर्काचर्की बाहिरसम्मै सुनिएको थियो । भित्र हल्लाखल्ला भएपछि सभामुखको कार्यकक्ष बाहिर रहेका सुरक्षाकर्मीहरु समेत सतर्क बनेका थिए ।
एमाले सांसदहरु सभामुखलाई भेट्न आउनुको कारण थियो, कारबाहीको सूचना प्रकाशनको सम्बन्धमा ध्यानाकर्षण गराउनु । एमालेले आफ्ना १४ जना सांसदलाई कारबाही गरेर संसद सचिवालयलाई भदौ १ गते जानकारी गराइसकेको छ । तर, संसदले कारबाहीको सूचना जारी गरेको छैन । राजनीतिक दलसम्बन्धी ऐन अनुसार दलले कारबाही गरेको स्थितिमा संसदले सूचना टाँसेपछि सांसदको पद सकिन्छ ।
एमालेको चाहाना छ, निर्वाचन आयोगले माधव नेपालहरुले गठन गरेको पार्टीलाई मान्यता दिनु अघि नै उनीहरुमाथि कारबाही होस् । त्यसैले एमालेले निरन्तर सभामुखमाथि दवाव दिँदै आएको छ । बिहीबार नै एक अन्तर्वार्तामा एमाले अध्यक्ष केपी ओलीले संसदबाट सूचना जारी नभएकोमा सभामुखमाथि आक्रोस व्यक्त गरेका थिए । उनले सभामुख कुनै पार्टीको कार्यकर्ता जस्तो हुन मिल्छ भन्दै प्रश्न गरेका थिए ।
छिटो सूचना टाँस गर्न माग गर्न आएका एमालेका सांसदहरुले सभामुखको कार्यकक्षमा छिरेपछि धम्कीपूर्ण भाषाको प्रयोग गर्न थालेका थिए । सुरुसुरुतिर माहौल शान्त थियो । सौहार्दपूर्ण ढङ्गले नै गफगाफ चलेको थियो । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले विगतको नजिर देखाउँदै छिटै सूचना निकाल्न आग्रह गरेका थिए ।
भट्टराईलाई उद्धित गर्दै एक सांसदले भने, ‘विगतमा समाजवादी पार्टीकी सांसद सरिता गिरी, माओवादी सांसदहरु टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी, प्रभु साह, लेखराज भट्टको हकमा छिटै सूचना जारी भएको थियो । विगतमा अरु पार्टीले कारबाही गर्दा २४ घण्टा, ४८ घण्टापनि नवित्दै सूचना जारी भयो । नेकपा एमालेले गरेको कारबाहीको हकमा के कारणले यो विलम्ब भएको छ ?’
बैठकमा अरु सांसदहरुले पनि क्रमैसँग बोले। एमाले सचेतक शान्ता चौधरीको बोल्नेपालो आयो । सूचना जारी नगर्दासम्म सभामुखकै च्याम्बरमा बस्ने उनले चेतावनी दिइन् । सभामुखको ब्यबहार विभेदपूर्ण रहेको भन्दै उनले असन्तुष्टि जनाइन् ।
उनको भनाइ उद्धित गर्दै ती सांसदले भने, ‘हामीलाई विभेद गर्नुभयो भन्ने महसुस भइरहेको छ । तपाइले अरु पार्टीलाई एउटा खालको ब्यबहार गर्नुभयो । तर, हाम्रो पार्टी एमालेलाई अर्कै खालको ब्यबहार गर्नुभयो । अहिले यहाँ बस्दाबस्दै सूचना जारी होस् । तपाइले सूचना जारी नगरुन्जेल हामी यहीँ बस्छौँ ।’
एमाले सांसद महेश बस्नेतले बल प्रयोग गर्ने समेत चेतावनी दिए । त्यहाँ बस्नेतले भनेका थिए, ‘एमालेले सांसदहरुलाई कारबाही गरेको सूचना तत्काल जारी होस् । सूचना जारी गर्न ढिलो भएको छ । सूचना जारी भएन भने बल प्रयोग गर्ने अवस्था आउन सक्छ । त्यसतर्फ सभामुखज्युको ध्यानाकर्षण गराउन चाहान्छु ।’
महेश बस्नेत र शान्ता चौधरीको कुरा सुनेपछि सभामुख सापकोटा आक्रोशित भएका थिए । एमालेका सांसदहरुका अनुसार उनी कुर्सीबाटै उठेर जंगिन थाले । ती सांसदले भने, ‘हामी पनि रिसायौँ । उहाँ पनि कुर्सीबाटै उठेर रिसाउन थाल्नु भयो । मौहौल बिग्रीयो । चर्काचर्की भयो ।’
आफू कानुन र नियम अनुसार अघि बढ्ने, कसैले धम्की दिँदैमा निर्णय नगर्ने सभामुख सापकोटाले एमाले सांसदहरुलाई बताए । सभामुखले भनेका थिए, ‘तपाईंहरु यहाँ किन आउनु भएको ? धम्की दिन आउनुभएको ? दबाब दिन आउनुभएको ? म कुनैपनि हालतमा दबाबमा निर्णय गर्न सक्दिन । संविधान, कानुन र नियमावली अनुसार निर्णय गर्छु । अहिले म उक्त कारबाहीको विषयमा अध्ययन, छलफल र परामर्श गरिरहेको छु ।’
एमाले सांसदहरुले बोल्दा प्रयोग गरेको शब्द चयमा सभामुखको सबैभन्दा बढी आपत्ति थियो । ‘तपाईंहरुले सार्वजनिक मञ्चमा गर्ने भाषण र सभामुखको कार्यकक्षमा बोल्ने भाषाको भिन्नता बुझ्न सक्नुहुन्न ? कि हुनुपर्छ भन्नेपनि ठान्नुहुन्न ? यतिबेला तपाईंहरु राज्यको तीनवटा अंग (कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका) मध्ये एउटा अंगको प्रमुखको कार्यकक्षमा हुनुहुन्छ । तपाईंहरु त्यसको सदस्य हुनुहुन्छ,’ सभामुखले सम्झाएका थिए ।
त्यसपछि एमाले सांसदहरु पनि गल्ति भएको महसुस गर्न थालेका थिए । उनीहरु आर्फैले एक अर्कालाई सम्झाउन थाले । सभामुखले पनि सौहार्दपूर्ण वातावरण बनाउन आग्रह गरे । झण्डै सवा घण्टा बसेको छलफल सकिएको थियो ।
श्रोत नयाँ पत्रिका ।