बुधवार, भाद्र २ २०७८
नेपाल वाइड
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा अध्यादेश जारी गरेकी हुन् । अध्यादेशमा संसदीय समिति र केन्द्रीय समितिको २० प्रतिशत भए दल विभाजन गर्न मिल्ने उल्लेख रहेको छ ।
त्यस्तै प्रदेश र स्थानीय तहमा दल विभाजन भएको २१ दिनभित्र कुन पार्टीमा जाने भनी सदस्यहरुले रोज्न पाउने व्यवस्था थपिएको छ ।मंगलबार मन्त्रिपरिषद्ले निर्णय गरी सिफारिस गरेको केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशतले दल विभाजन गर्ने व्यवस्थासहितको अध्यादेश बुधबार राष्ट्रपतिले जारी गरेकी हुन् ।
आज दिउँसो १ बजेर १० मिनेटमा उक्त अध्यादेश जारी भएको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । राष्ट्रपतिले जारी गरेसँगै अध्यादेश राजपत्रमा प्रकाशनका लागि पठाइनेछ ।
राजपत्रमा प्रकाशित भएपछि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ स्वतः निस्क्रिय हुनेछ । अब कुनै पनि दलले आफ्नो दलको केन्द्रीय समिति वा संसदीय दलमध्ये जतासुकैको २० प्रतिशत पुर्याएर अर्को दल गठन गरेमा त्यसले वैधानिकता पाउनेछ ।
