बुधवार, भाद्र २ २०७८
नेपाल वाइड
काठमाण्डौ । नेकपा एमाले पार्टी अन्तत पाँच महिना लामो एकता प्रयास असफल भएपछि औपचारिक रूपमा विभाजनको हुने अवश्थामा पुगेको छ । सरकारले पठाएको दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी भएलगत्तै नयाँ दल दर्ता गर्ने नेपाल समूहको तयारी छ । नेपालसहित १४ सांसदलाई कारबाही गरेर संस्थापनले पनि विभाजनलाई सहजीकरण गरि दिएको छ ।
नेपाल समूहका नेता विरोध खतिवडाले एकताको अन्तिम कोसिसमा लागेको र अध्यादेश जारी हुने बेलासम्म प्रगति नभए दल दर्ताका लागि निर्वाचन आयोग जाने बताए । ‘नयाँ दल दर्ता गर्ने प्रक्रिया, सबै कागजात तयार छन्,’ उनले भने, ‘एकताको सम्भावना करिब–करिब सकिएको हुँदा अध्यादेश जारी हुने बित्तिकै आयोग जाने तयारी छ ।’
नेपाल समूहले पार्टीको नाम नेकपा एमाले (समाजवादी) पार्टी राख्ने तय गरेको छ । नयाँ पार्टी गठनको गृहकार्यमा रहेका नेपाल पक्षका नेताहरूका अनुसार राष्ट्रपतिबाट बुधबार अध्यादेश जारी भए नयाँ दल दर्ताका लागि लगत्तै आयोग जाने तयारी छ । निर्वाचन आयोगमा कायम २०३ सदस्यीय केन्द्रीय कमिटी मध्येबाट करिब ६० जना सदस्यको हस्ताक्षर संकलन भएको छ ।
स्थायी कमिटीका एक नेताका अनुसार दर्ताका लागि आवश्यक पर्ने कागजात (हस्ताक्षर, नागरिकता, विधान, नियमावलीलगायत) तयार गर्ने जिम्मा स्थायी कमिटी सदस्य वेदुराम भुसाल, केन्द्रीय सदस्य राजेन्द्र पाण्डे, विजय पौडेल, प्रमेश हमाललगायतलाई दिइएको छ ।
अब २० प्रतिशत सदस्यले पार्टी विभाजन गर्न सक्ने गरी कानुन जारी भएमा ४१ सदस्यको पनि पर्याप्त हुनेछ । त्यस्तै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका २२ सांसद नयाँ पार्टीको पक्षमा छन् । त्यसमा अझै केही थपिने नेताहरूको दाबी छ । राष्ट्रिय सभामा आफ्ना ९ सांसद रहेको यो समूहको दाबी छ । नेपालमार्ग