मंगलवार, भाद्र १ २०७८
नेपाल वाइड
खोटाङ । भदौ १, नाछिरिङ भाषाको कक्षा ३ को पाठ्यापुस्तकको पाण्डुलिपी तयार पारिएको छ । नाछिरिङ राईको बाहुल्यता रहेको पुर्वी नेपालका विभिन्न जिल्लाका विद्यालयमा पठन–पाठनका लागि रामकुमार नाछिरिङ संयोजक, बिजय नाछिरिङ र लाकु संगम नाछिरिङ सदस्य रहेको पुस्तक लेखन समितिले नाछिरिङ भाषाको कक्षा ३ को पाठ्यापुस्तकको पाण्डुलिपी तयार पारेको हो ।
गत वर्ष नाछिरिङ भाषाको कक्षा २ को पाठ्यापुस्तक र सोभन्दा अघिल्लो वर्ष कक्षा १ को पाठ्यापुस्तक तयार पारेको पुस्तक लेखन समितिले काठ्माण्डौंमा साउन २१ गतेदेखि साउन ३० गतेसम्म आयोजना गरिएको सम्पादन कार्यशाला गोष्ठीमार्फत कक्षा ३ को पाठ्यापुस्तकको पाण्डुलिपी तयार पारेको हो ।
भाषाविद डा. तारामणि राईको प्राज्ञिक सहयोग एवं सोलुखुम्बुको सोताङ, खोटाङ र मोरङका नाछिरिङभाषी पुर्खा जलबहादुर नाछिरिङ, हर्कबहादुर नाछिरिङ र शान्ता नाछिरिङको सहभागीतामा नाछिरिङ भाषाको कक्षा ३ को पाठ्यापुस्तकको पाण्डुलिपी तयार पारिएको किरात रदु नाछिरिङ साखाम केन्द्र काठ्माण्डौंले जनाएको छ ।
पाठ्यापुस्तकको पाण्डुलिपी तयार पारेर प्रकाशनका लागि किरात रदु नाछिरिङ साखाम केन्द्रलाई साउन ३१ गते हस्तान्तरण गरिएको पाठ्यापुस्तक लेखन समितिका संयोजक रामकुमार नाछिरिङले बताए ।
नाछिरिङ भाषाको सुनाइ, बोलाइ, पढाइ, लेखाइ जस्ता भाषिक विकासका साथै सामाजिक तथा साँस्कृतिक संरक्षण तथा सम्वद्र्धनमा योगदान पु¥याउने लक्ष्यकासाथ पाठ्यापुस्तक तयार गरिएको छ ।
‘पाठ्यापुस्तकमा विशेषगरी स्थानीय परिवेस अनुशार भाषाको सुनाई, बोलाई र लेखाई सम्वन्धी सीपलाई केन्द्रित गरिएको छ,’ संयोजक नाछिरिङले भने, ‘व्याकरण र शब्द भण्डार सम्वन्धी विषयवस्तु पनि पुस्तकमा समेटेका छौँ ।’
सोलुखुम्बु, खोटाङ, उदयपुर लगायतका जिल्लाका नाछिरिङको बाहुल्यता रहेको विद्यालयमा नाछिरिङ भाषामा कक्षा २ पछि कक्षा ३ को पठन–पाठनका लागि पाठ्यापुस्तक तयार पारिएको हो । २०७६ सालदेखि सोलुखुम्बूको सोताङ गाउँपालिकाका पाँच विद्यालय र खोटाङको ऐसेलुखर्क गाउँपालिकाको पाँच विद्यालयमा नाछिरिङ भाषाको पठन–पाठन सुरु गरिएको साखामकी केन्द्रीय उपाध्यक्ष कमलकुमारी राईले बताईन् ।
२०६८ सालको जनगणना अनुसार पुर्वी नेपालमा नाछिरिङ भाषा बोल्न जान्ने जनसंख्या १० हजार ४१ जना रहेको छ । लोपोन्मुख बनेको नाछिरिङ भाषा, संस्कृति, इतिहास लगायतको संरक्षण एबं संवद्र्धनको लक्ष्यकासाथ आफ्नै भाषामा पाठ्यापुस्तक तयार पारेर पठन–पाठन सुरु गरिएको साखामले जनाएको छ ।
स्थानीय तहको कार्यान्वयनपछि विभिन्न भाषाभाषीमा पठन–पाठन गर्ने बाटो खुलेसँगै नाछिरिङ राईको बाहुल्यता रहेको ठाउँका विद्यालयमा नाछिरिङ भाषामै कक्षा १ देखि ३ सम्मको पठन–पाठनका लागि समितिले यसअघि नै पाठ्याक्रम तयार पारिसकेको छ ।
२०७५ साल मंसिर १४ गते ३५ भन्दा बढि नाछिरिङ पुर्खाहरुको उपस्थितिमा धरानमा सम्पन्न पहिलो कार्यशाला गोष्ठीले ‘हामी सबै एउटै नाछिरिङ हौँ, हाम्रो भाषा एउटै नाछिरिङ हो’ भन्ने निष्कर्ष सहित भाषाको पाठ्यक्रम निर्माण सुरु गरेको थियो ।
सोलुखुम्बुको सोताङ, महाकुलुङ गाउँपालिका र खोटाङको ऐसेलुखर्क गाउँपालिकामा नाछिरिङ राईको सघन बस्ती रहेको छ । यस बाहेक सँखुवासभा, ताप्लेजुङ, पाँचथर, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, तेहथुम, इलाम, झापा, उदयपुर, काठमाडौँ, ललितपुर, भक्तपुर र प्रवासमा दार्जिलिङ, सिक्किम, भुटान, हङकङ, सिङ्गापुर, युके, अमेरिका, क्यानडा लगायतका देशमा समेत नाछिरिङ राईको बसोवास रहेको छ ।