Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    धर्मसंस्कृति

    आज नागपञ्चमी

    आज नागपञ्चमी


    • शुक्रवार, श्रावण २९ २०७८

    • नेपाल वाइड


    आज नागपञ्चमी
    फायल तस्बिर

    हिन्दू धर्मशास्त्र अनुसार (आज) शुक्रबार नाग पञ्चमी पर्व मनाइँदै छ । श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा ढोकामाथि वा ढोकाको दायाँबायाँ नागको फोटो टाँसेर विधिपूर्वक पूजा गर्ने धार्मिक मान्यता रहेको छ ।  

    ज्योतिष शास्त्रअनुसार पञ्चमी तिथिका स्वामी नाग देवता भएकाले पनि यस दिन नागका अष्टकुल (अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलिर, कर्कट र शंख) का नागहरूको पूजा गरिन्छ ।

    ती नाग वा तिनको नाम लेखिएको चित्र घरको मूल ढोकामाथि वा ढोकाको दायाँबायाँ गाईको गोबरले टाँसेर पूजा गर्ने शास्त्रीय परम्परा रहेको धर्मशास्त्रीहरू बताउँछन् । यसका साथै अगस्त्य, पुलस्त्य, वैशम्पायन, सुमन्तु, जैमिनि नाम गरेका नागलाई पनि वज्रवारकको रूपमा पुज्ने गरिएको छ ।

    यसरी नागको चित्र टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत विषालु जीवको भय र आगलागी, चट्याङ आदि प्राकृतिक प्रकोपबाट सुरक्षित रहन सकिन्छ भन्ने धार्मिक मान्यता छ । नाग पञ्चमीका दिन नागको तस्बिरलाई घरको मूलढोकामा टाँसेर अर्चना गर्दै यी नागप्रति श्रद्धा व्यक्त गर्ने प्रचलन छ ।

    काठमाडौं उपत्यकाका भचाखुसी–स्थित घोडेनाग, इटुम्बहालको जलनाग, टेकुको टेकुनाग, गल्कोपाखा ठमेलस्थित हरिनाग, टुँडिखेल सुन्धाराछेउस्थित मीननाग, थानकोटस्थित नागढुंगा, धापाखेलस्थित नागदह, चोभारपारिको टौदह, नक्साल नागपोखरी र चाँगुनारायण नगरपालिका–८ कलमसीस्थित कल्पेश्वर नाग मन्दिरमा विशेष रूपमा पूजा अर्चना गर्ने प्रचलन छ ।

    नाग रिसाए पानीका मुहान सुक्ने र पानीको हाहाकार हुने मान्यताका आधारमा पनि नागलाई खुसी पार्न पूजा गर्ने शास्त्रीय परम्परा रहिआएको हो ।

    यसै आधारमा हरेक घरको जगमा नागको बास हुने र  नाग रिसाए घरको जग नै भासिन्छ वा भत्कन्छ भन्ने मान्यता छ । त्यस्तै, पातालमा नाग देवताको बसोबास हुने र नागपञ्चमीका दिन भूमि खन्दा नागलाई कष्ट हुने भएकाले यस दिन हलो जोत्नु वा घरको जग राख्नु शुभ हुँदैन भनेर शास्त्रमा उल्लेख गरिएको छ ।

    सम्बन्धित समाचार