बिहिवार, श्रावण २८ २०७८
नेपाल वाइड
खोटाङ । साउन २८, खोटाङका २ हजार ३१५ जना संक्रमित कोभिड–१९ को संक्रमणबाट मुक्त भएका छन् । बिहिबारसम्ममा जिल्लामा कुल २ हजार ६१८ जनालाई संक्रमण भएकामा २ हजार ३१५ जनाले संक्रमण जितेका हुन् ।
हाल जिल्लामा सक्रिया संक्रमितको संख्या ३३६ जना रहेको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । सक्रिय संक्रमितमध्ये ३१५ जना होम आइसोलेसनमा बसिरहेका र २१ जनाले स्वास्थ्य संस्थामा उपचार गराइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिड–१९ को संक्रमणबाट जिल्लाका ११ जनाले ज्यान गुमाइसकेका स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए ।
हालसम्म खोटाङका २६ हजार ७४६ जनाले कोभिड–१९ विरुद्धको पहिलो खोप लगाइसकेका छन् भने ३ हजार ३७७ जनाले दोश्रो खोप लगाइसकेका छन् ।
कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा हाल २३४ बेड, १ थान भेन्टिलेटर, ७ वटा एम्बूलेन्स, २०० थान अक्सिजन सिलिण्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।