Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    भत्ता

    सामाजिक सुरक्षा भत्ता वितरण झन्झटिलो

    सामाजिक सुरक्षा भत्ता वितरण झन्झटिलो


    • सोमवार, श्रावण २५ २०७८

    • नेपाल वाइड


    सामाजिक सुरक्षा भत्ता वितरण झन्झटिलो
    हलेसी तुवाचुङ नगरपालिका दुर्छिम खोटाङ

    खोटाङ । साउन २५, बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्थाका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले २०७७ असोज २१ गते एकैसाथ तीन वटा बैंकसँग सझौता गर्दा लाभग्राही उत्साहित बनेका थिए ।

    नगरका ११ वटै वडाका ज्येष्ठ नागरिक, ज्येष्ठ नागरिक (दलित), ज्येष्ठ नागरिक एकल महिला, विधवा, क र ख वर्गका अपांग र दलित बालबालिकालाई सचिवमार्फत वितरण हुँदैआएको सामाजिक सुरक्षा भत्ता बैंकमार्फत बाँडिने खबर सञ्चार गरिए/गराइए ।

    तर, सामाजिक सुरक्षा भत्ता वितरणका लागि नगरपालिकासँग सम्झौता गरेको बैंकले सम्झौता अनुसार टोल–टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रभावकारी व्यवस्थापन गर्न नसक्दा सेवाग्राही निराश देखिएका छन् ।

    सामाजिक सुरक्षा भत्तालाई बैंकिङ प्रणालीमा लैजान अघि वडा सचिवले घर–घरमा वा कम्तीमा टोल–टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दैआएका थिए । तर, सामाजिक सुरक्षा भत्ता वितरणको सम्झौता गरेको बैंकले हाल टोल–टोलमा पुगेर भत्ता वितरणको व्यवस्थापन गर्न नसकेको लाभग्राहीको गुनासो छ ।

    सामाजिक सुरक्षा भत्ता वितरणका लागि बैंकका कर्मचारी वडाको केही टोलमा पुग्छन् तर कतिपय ज्येष्ठ नागरिक र अपांग भत्ता वितरणस्थलसम्म पुग्न सक्दैनन् । भत्ता थाप्न नपुग्ने लाभग्राही भुक्तानीबाट छुट्ने गरेका छन् ।

    हिँडडुल गर्न सक्ने कतिपय लाभग्राही सिधै हलेसीस्थित बैंकको शाखा कार्यालयमा पुगेर भत्ता बुझ्ने गरेको भए पनि हिँडडुल गर्न नसक्ने बृद्धबृद्धा र पूर्ण अपांग भने सामाजिक सुरक्षा भत्ता नियमित पाउन नसकेको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए ।

    ‘७० वर्षमाथिका बुढाबुढी हिँड्न सक्दैनन । उहाँहरुलाई आँगन नै परदेस जस्तो छ । अशक्त सेवाग्राही बैंकको पहुँचमा पुग्ने अवस्था छैन । त्यस्ता समुहलाई समस्या भएको छ,’ वडाध्यक्ष राईले भने, ‘पहिला सचिवले घर–घरमा भत्ता पुर्‍याइ दिन्थे । अहिले बैंकको ढिलासुस्तीले सामाजिक सुरक्षा होईन, असुरक्षा भो । दुःख दिने बाहेक केही गरेनौं भनिरहेका छन् ।’

    विभिन्न स्थानीय तहमा ‘फेक डकुमेन्ट’ खडा गरेर सामाजिक सुरक्षा चुहावट भइरहेको खबर बाहिर आइरहेको अवस्थामा नगरपालिकाले बैंकमार्फत पारदर्शी रुपमा भत्ता वितरणका लागि सम्झौता गरेको थियो ।

    केही समयअघि माछापुछ्रे बैंकले हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको छोङपाङ, दाम्ली र बाइटारमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण ग¥यो तर सो स्थानसम्म आउन नसक्ने लाभग्राहीले हालसम्म सो चौमासिकको सामाजिक सुरक्षाभत्ता पाउन नसकेको डिकुवाका वडासदस्य घनश्याम राईले बताए ।

    बैंकको कर्मचारी पुगेको वितरण स्थलसम्म पुग्न नसक्ने अशक्त लाभग्राही हालसम्म सामाजिक सुरक्षा भत्ता पाउनबाट छुटिरहेका छन् । यस विषयमा बैंकका मेनेजरसँग पटक–पटक फोनमा बाझाबाझ चलेको वडा सदस्य राईले बताए ।

    बैंकिङ प्रणालीबाट हुने सामाजिक सुरक्षा भत्ताको भुक्तानी झन्झटिलो देखिएको हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका वडाध्यक्ष किशोर बस्नेतले बताए । ‘पारदर्शीताको विषयमा प्रश्न उठाउने ठाउँ छैन । तर, समयमा भुक्तानी नपाउने समस्या छ । झन्झटिलो भइरहेको छ,’ वडाध्यक्ष बस्नेतले भने, ‘पहिला घर घरमै भत्ता पुग्थ्यो । आफन्त पठाए पनि लिनसक्थे ।

    अहिले त्यो अवस्था रहेन । देखिएका इररहरु क्रमशः सच्याएर बैंकिङ प्रणालीलाई सरल र सहज बनाउनु पर्ने जरुरी देखिएको छ ।’ पारदर्शीताका हिसावले सामाजिक सुरक्षा भत्ताका लागि बैंकसम्म पुग्नुपर्ने व्यवस्थालाई सहज रुपमा लिनुपर्ने हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका वडाध्यक्ष भलाराज राईको धारणा छ ।

    सामाजिक सुरक्षा भत्ता वितरणलाई चुस्त तरिकाले वितरणका लागि ताकेता गरिरहेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । ‘सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जिम्मा बैंकलाई दिइएको छ । बैंकले सबै ठाउँमा पुर्‍याउन सकेको छैन,’ मेयर राईले भने, ‘वडा र नगरपालिकालाई बाँड्ने अधिकार छैन । सामाजिक सुरक्षा भत्ता बैंकमा जम्मा गरिएन र आफै बाड्न थाले नगरपालिकाको निकासै रोक्का हुन्छ । बैंकलाई ताकेता गरिरहेका छौँ ।’

    सम्बन्धित समाचार