शनिवार, श्रावण २३ २०७८
नेपाल वाइड
खोटाङ । साउन २३, ‘द भ्वइस अफ नेपाल सिजन–३’ को टप फोरमा पुगेका ज्वाला राईलाई जिताउनका लागि खोटाङबाट २७ हजार बढीको भोट गरिएको छ ।
नेपालकै चर्चित रियालिटी सो द भ्वइस अफ नेपालको टप फोरमा पुगेका राईलाई जिताउनका लागि एलबि मगरको संयोजकत्वमा गठित ज्वाला राई जिताऔं अभियान जिल्ला समितिको पहलमा २७ हजार १०० भोट जुटाइएको हो ।
पाँच दिनको अभियानका क्रममा ८१ हजार ३०० रुपैयाँ सहयोग संकलन गरेर २७ हजार १०० भोट गरिएको हो । भोजपुरका ज्वाला राईलाई द भ्वइस अफ नेपालमा जिताउनका लागि साउन १९ गते मगरको संयोजकत्वमा १०१ सदस्यीय ज्वाला राई जिताऔं अभियान जिल्ला समिति गठन गरिएको थियो ।
साउन १९ गतेदेखि २३ गतेसम्ममा खोटाङमा ५० हजार ३०० र विदेशमा रहेका दाताबाट ३१ हजार रुपैयाँ आर्थिक सहयोग जुटाइएको संयोजक मगरले जानकारी दिए । उठेको सहयोग रकमलाई ज्वालाको पक्षमा भोट गर्न खर्च गरिएको छ । ज्वाला राई जिताऔं अभियान जिल्ला समितिले शनिबार विज्ञाप्ती जारी गर्दै सहयोग अभियान बन्द गरेको जनाएको छ ।
ज्वाला राई जिताऔं अझियानका क्रममा समितिले दित्तेलबजारदेखि मुढे हुँदै हुलुङसम्म र्याली निकालेको थियो । ज्वाला राई निर्णायक तृष्णा गुरुङ टिमबाट द भ्वाइस अफ नेपालको प्रतिष्पर्धामा छन् ।
द भ्वाइस अफ नेपालको फिनालेमा ज्वाला सहित टिम दिप श्रेष्ठबाट आर्यन तामाङ, टिम प्रमोद खरेलबाट किरण गजमेर र टिम राजु लामाबाट तारा श्रीश मगर भए पनि जिल्लामा ज्वालाको समर्थकले मात्र अभियान चलाएको हो । शनिबार गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को फिनाले हुँदैछ ।