मंगलवार, श्रावण १९ २०७८
नेपाल वाइड
खोटाङ । साउन १९, खोटाङमा यातायातका सवारी साधनमा नयाँ भाडा दर लागू गरिएको छ । लामो तथा छोटो दुरीको सवारी साधनमा मंगलबार बिहानदेखि २८ प्रतिशतले भाडा दर बृद्धि गरेर कार्यान्वयनमा ल्याइएको हो ।
नेपाल सरकार, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय (मन्त्री स्तर)को सहमति एवं यातायात व्यवस्था विभागको निर्णय अनुसार जिल्लामा नयाँ सवारी भाडा दर लागू गरिएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए ।
मंगलबारदेखि दिक्तेल–काठ्माण्डौं गर्ने बसमा यात्रा गर्नका लागि जनही १ हजार ५३६ रुपैयाँ, दिक्तेल–इटहरीका लागि १ हजार ५३६, दिक्तेल–धरानका लागि १ हजार ५३६, दिक्तेल–बिराटनगरका लागि १ हजार ६००, दिक्तेल–काँकडभिट्टाका लागि १ हजार ७२८ र दिक्तेल–गाईघाटका लागि १ हजार २४ रुपैयाँ भाडा निर्धारण गरिएको छ ।
यस्तै, दिक्तेलबाट काठ्माण्डौं चल्ने जीपका लागि जनही १ हजार ८५६, दिक्तेल–इटहरीका लागि २ हजार २००, दिक्तेल–धरानका लागि २ हजार २४०, दिक्तेल–बिराटनगनरका लागि २ हजार ३०४, दिक्तेल–काँकडभिट्टाका लागि २ हजार ३०४ र दिक्तेल–गाईघाटका लागि १ हजार ५३६ रुपैयाँ भाडा दर कायम गरिएको महासचिव हिङमाङले जानकारी दिए ।
जिल्लामै सञ्चालन हुने लोकल रुटमा सञ्चालन हुने सवारी साधनको भाडा दर समेत वृद्धि गरिएको यातायात व्यवसायीले बताएका छन् ।
जिल्लामा सञ्चालित खोटाङ यातायात प्रालि, साझा खोटाङ यातायात प्रालि, सुपर खोटाङ भोजपुर यातायात प्रालि, तुवाचुङ मारातिका यातायात प्रालि, हलेसी मारातिका यातायात प्रालि, रावा एक्सप्रेस यातायात प्रालि, पब्लिक मध्यपहाडी यातायात प्रालि, नोबेल यातायात प्रालि, सगरमाथा सिंहदेवी यातायात प्रालि र पुर्वाञ्चल यूनिक यातायात प्रालिले सोमबार दिक्तेलको किरातचोकमा पत्रकार सम्मेलन गर्दै भाडा वृद्धिको घोषणा गरेका थिए ।
यातायात श्रमिकको पारिश्रमिक, इन्धन, टायर, व्याज, प्रशासन खर्च, ¥हास कट्टी र सञ्चालन मुनाफा लगायतका मूख्या सूचकमा देखिएको मूल्य वृद्धिको आधारमा सार्वजनिक यातायातका सवारीको भाडामा गरिनु पर्ने समायोजनका सम्वन्धमा गत असार २७ गते नेपाल सरकार, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय (मन्त्री स्तर)को सहमति एवं यातायात व्यवस्था विभागको असार २९ गतेको निर्णयानुसार भाडा दर बढाइएको महासचिव हिङमाङले बताए ।
नेपालको संविधान २०७२ को अनुसूची ५ को बुँदा नम्बर २० र अनुसूची ९ को बुँदा नम्बर १५ का आधारमा नेपाल सरकारले गरेको कार्य विस्तृतीकरण र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ९६ को उपदफा (१) बमोजिम सोही ऐनको दफा १५३ को खण्ड (घ)ले दिएको अधिकार प्रयोग गरी सार्वजनिक यातायातका सवारीको नयाँ भाडा दर कायम गरिएको यातायात व्यवसायीले जनाएका छन् ।