सोमवार, श्रावण १८ २०७८
नेपाल वाइड
खोटाङ । साउन १८, खोटाङका यातायात व्यवसायीले सार्वजनिक यातायातका सवारी भाडा दर बृद्धि गरेका छन् । नेपाल सरकारले गरेको कार्य विस्तृतीकरण र सवारी तथा यातायात व्यवस्था ऐनले दिएको अधिकार प्रयोग गरी जिल्लाका यातायात व्यवसायीले हाल कायम भाडा दरमा २८ प्रतिशतले बृद्धि गरेका हुन् ।
सोमबार दिक्तेलको किरातचोक (रत्नपार्क)मा पत्रकार सम्मेलन गर्दै खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले दुई वा सोभन्दा बढी प्रदेश हुँदै सञ्चालन हुने राष्ट्रियस्तरका सार्वजनिक यातायात रुटमा सञ्चालन हुने सार्वजनिक यातायातका सवारीहरुको भाडा दर वृद्धि गरिएको घोषणा गरेका हुन् ।
हाल दिक्तेल–काठ्माण्डौं गर्ने बसमा यात्रा गर्नका लागि जनही १ हजार ५३६ रुपैयाँ, दिक्तेल–इटहरीका लागि १ हजार ५३६, दिक्तेल–धरानका लागि १ हजार ५३६, दिक्तेल–बिराटनगरका लागि १ हजार ६००, दिक्तेल–काँकडभिट्टाका लागि १ हजार ७२८ र दिक्तेल–गाईघाटका लागि १ हजार २४ रुपैयाँ भाडा निर्धारण गरिएको छ ।
यस्तै, दिक्तेलबाट काठ्माण्डौं चल्ने जीपका लागि जनही १ हजार ८५६, दिक्तेल–इटहरीका लागि २ हजार २००, दिक्तेल–धरानका लागि २ हजार २४०, दिक्तेल–बिराटनगनरका लागि २ हजार ३०४, दिक्तेल–काँकडभिट्टाका लागि २ हजार ३०४ र दिक्तेल–गाईघाटका लागि १ हजार ५३६ रुपैयाँ भाडा दर कायम गरिएको महासचिव हिङमाङले जानकारी दिए ।
जिल्लामै सञ्चालन हुने लोकल रुटमा सञ्चालन हुने सवारी साधनको भाडा दर समेत वृद्धि गरिएको यातायात व्यवसायीले बताएका छन् । नयाँ भाडा दर मंगलबारबाट लागू हुने जनाइएको छ ।
जिल्लामा खोटाङ यातायात प्रालि, साझा खोटाङ यातायात प्रालि, सुपर खोटाङ भोजपुर यातायात प्रालि, तुवाचुङ मारातिका यातायात प्रालि, हलेसी मारातिका यातायात प्रालि, रावा एक्सप्रेस यातायात प्रालि, पब्लिक मध्यपहाडी यातायात प्रालि, नोबेल यातायात प्रालि, सगरमाथा सिंहदेवी यातायात प्रालि र पुर्वाञ्चल यूनिक यातायात प्रालिले बस तथा जीप सञ्चालन गरिरहेका छन् ।
यातायात श्रमिकको पारिश्रमिक, इन्धन, टायर, व्याज, प्रशासन खर्च, र्हास कट्टी र सञ्चालन मुनाफा लगायतका मूख्या सूचकमा देखिएको मूल्या वृद्धिको आधारमा सार्वजनिक यातायातका सवारीको भाडामा गरिनु पर्ने समायोजनका सम्वन्धमा गत असार २७ गते नेपाल सरकार, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय (मन्त्री स्तर)को सहमति एवं यातायात व्यवस्था विभागको असार २९ गतेको निर्णयानुसार भाडा दर बढाइएको महासचिव हिङमाङले बताए ।
नेपालको संविधान २०७२ को अनुसूची ५ को बुँदा नम्बर २० र अनुसूची ९ को बुँदा नम्बर १५ का आधारमा नेपाल सरकारले गरेको कार्य विस्तृतीकरण र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ९६ को उपदफा (१) बमोजिम सोही ऐनको दफा १५३ को खण्ड (घ)ले दिएको अधिकार प्रयोग गरी सार्वजनिक यातायातका सवारीको नयाँ भाडा दर कायम गरिएको यातायात व्यवसायीले जनाएको छ ।