आइतवार, श्रावण १७ २०७८
नेपाल वाइड
खोटाङ । साउन १७, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका कोभिड संक्रमितलाई हेलीकोप्टर चार्टर गरेर अस्पताल लगिएको छ ।
स्वास्थ्यमा समस्या आएपछि दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित अस्थायी कोभिड अस्पतालमा आइपुगेका राई थरका (नाम गोप्य राखिएको) संक्रमितलाई शनिबार २ लाख ८० हजारमा हेलीकोप्टर चार्टर गरेर उपचारमा लगिएको हो ।
शनिबार बिहान अस्थायी कोभिड अस्पतालमा आइपुगेका राईको श्वासप्रस्वासमा समस्या देखिएपछि आफन्तले हेलीकोप्टर चार्टर गरेर काठ्माण्डौं लगेका हुन् ।
संक्रमितको अल्का अस्पतालमा भर्ना गरेर उपचार भइरहेको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका गाउँसभा सदस्य अमृत गिरीले बताए । संक्रमित राई आफै बाइक चलाएर अस्थायी कोभिड अस्पताल पुगेका थिए ।
उनलाई अस्थायी कोभिड अस्पतालमा आएपछि परिक्षण गर्दा संक्रमण पूष्टि भएको जनाइएको छ । कोभिड–१९ को महामारीका क्रममा जिल्लाका दर्जनौं संक्रमित अस्पताल पुग्नका लागि हेलीकोप्टर चार्टर गर्न वाध्य बनेका छन् ।